काठमाडौं। बजेट निर्माणका क्रममा एक सुब्बालाई विज्ञ भन्दै १४ जेठ मध्यरातमा अर्थ मन्त्रालयमा करको दर हेरफेर गरेको विषयमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा हुनुपर्ने अडानमा छ, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले। प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई बर्खास्त गरेका छैनन् भने राजनीतिक नैतिकताका आधारमा उनले राजीनामा पनि दिएका छैनन्।
प्रतिपक्षी दलको माग स्वभाविक भए पनि अर्थमन्त्री शर्माको राजीनामा पार्टी भित्र र सरकारमा सहभागी मन्त्रीले पनि चाहेका थिए। एउटा मन्त्रिपरिषदको बैठकमा बहुमत मन्त्रीले शर्माको राजीनामा हुनुपर्ने माग गर्दा उनले भने,‘तिमीहरूले भनेर राजीनामा दिने हो र? प्रधानमन्त्रीले भने मात्र राजीनामा दिन्छु। तिम्रा कुरा कसले मान्छ?’
एक मन्त्री भन्छन्,‘उनको बारेमा प्रश्न उठेपछि, खासगरी अर्थतन्त्रलाई नै असर परेपछि राजीनामा दिँदा उचित हुन्छ भनेका थियौं तर उनले त दुई दुना पाँचको शैलीमा प्रधानमन्त्रीले भन्दा मात्र दिन्छु, तिमिहरूले भनेर दिन्नँ भने।’
त्यसो त शर्माको राजीनामा अनिवार्य नगराए नेकपा माओवादी केन्द्रलाई नै राजनीतिक रुपमा घाटा हुने भन्दै नेता बर्षमान पुनः पक्षका नेताले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रिपोर्ट गरेका थिए। शर्मा र पुनःको माओवादीभित्र शितयुद्ध रहेको सार्वजनिक भइसकेको छ।
‘पैसा कमाउने भन्दा अन्य धन्दामा लागेनन्, यीनले पार्टीलाई पनि डुबाउने भए’, पुननिकटले प्रचण्डलाई भने,‘तुरुन्त बर्खास्तका लागि प्रधानमन्त्रीलाई भन्नुप¥यो होइन भने पार्टीको बेइज्जत हुने भयो।’
मुलुकको अर्थतन्त्र ध्वस्त बनाएको भन्दै शर्माको सर्वत्र आलोचना हुँदा पनि राजीनामा आएको छैन भने प्रधानमन्त्री देउवा मौन छन्। शर्माले विदेशी सेनेटरी प्याडमा करोडौं कमिशन लिएका छन् भने हाइड्रोदेखि अन्य क्षेत्रमा पनि कमिशनको थाक तयार पारेको बताइन्छ।
आफूलाई अब्बल देखाउनका लागि शर्माले प्रचण्डनिकट रहेका प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटाको संयोजकत्वमा माओवादी निकट र शर्मानजिक रहेका दुई दर्जन पत्रकारलाई लाखौं रकमको रक्सी खुवाएको पनि सतहमा चर्चा छ।
‘देशलाई भड्खालोमा हालेर अहिले रक्सी र मासु खुवाउँदै हिँड्ने यस्ता पात्रलाई सरकारमा माओवादीको प्रतिनिधिका रुपमा लामो समय राख्नु उचित हुन्छ?’, एक नेता भन्छन्,‘जसरी हुन्छ शर्माको बहिर्गमन भएन भने देशले दुख पाउने भयो।’