काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित भएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि नेकपा एमालेका सांसद भीम रावलले खेद प्रस्ताव पारित गर्न प्रस्ताव गरेका छन् ।
अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) का बारेमा जानकारी लिन बोलाइएका प्रधानमन्त्री देउवाले अन्तिम समयमा अनुपस्थित हुने जानकारी दिएपछि रावलले सो प्रस्ताव गरेका हुन् ।
‘हिजो लोकतन्त्र खतरामा पर्यो भनेर प्रधानमन्त्री बन्नु भएको हो, खै त (बैठकमा अनुपस्थित) लोकतन्त्रको रक्षा गरेको ? उहाँलाई प्रधानमन्त्री बनाउन मैले हस्ताक्षर गरेको इतिहासले समीक्षा गर्ला,’ रावलको आक्रोश थियो, ‘उहाँ अनुपस्थित हुनु भनेको हिजोको गतल कार्यको निरन्तरता भएन र ? उहाँ अनुपस्थित भएर सांसदहरूको अपमान भएको छ, त्यसैले यो खेदजनक छ, बैठकले अब खेद प्रस्ताव पारित गरौँ ।’
बैठकमा प्रधानमन्त्री कार्यालयले आउन नभ्याउने भनी जानकारी गराएको समिति सभापति पवित्रा निरौला खरेलले जानकारी गराएकी थिइन् । उनका अनुसार प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री आउन नसक्ने जानकारी गराएका हुन् ।
आज बिहानभर प्रधानमन्त्रीलाई समितिमा उपस्थित गराउन आफूले धेरैलाई फोन गरेको जानकारी दिएकी उनले शनिबार बेलुकासम्म आउने कुरा गरेको, तर उपस्थित गराउन नसकेको बताएकी थिइन् ।