बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम कुनै पनि हालतमा स्वीकार्य हुँदैन : प्रदीप ज्ञवाली 

बुधबार, असार १ २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले एसपीपी सम्झौताले मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने र त्यसलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने बताएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा अमेरिकी एसपीपी सम्झौतालाई लिएर मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम कुनै पनि हालतमा स्वीकार्न नसकिने बताएको हाे । 
 
बुधबारको बैठकमा पूर्वपरराष्ट्रमन्त्री तथा एमालेका सांसद प्रदीप ज्ञवालीले एसपीपीबारे सरकारलाई संसद्‍मा जवाफ दिन माग गरेका छन् । 

एसपीपी सम्झौताको मस्यौदाले मुलुकलाई चिन्तामा पारेको उनको भनाइ थियो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पनि एसपीपी सम्झौताबारे कुरा आएको तर उक्त सम्झौताका समग्र पक्षबारे अध्ययन गरेर मात्रै जवाफ दिने भनेर ‘होल्ड’मा राखिएको विषय आज सरकार फेरिएपछि अघि बढ्न खोज्नु गलत भएको उनले बताए ।

यस्ता गम्भीर विषयमा सरकारले सदन तथा दललाई अहिलेसम्म जानकारी नगराउनु गम्भीर षडयन्त्र भएको उनले बताए ।

नेपाल सैन्य गठबन्धनमा जोडिँदा नेपालको परराष्ट्रनीति उल्लंघन हुने ज्ञवालीको भनाइ थियो । प्रस्ताव भनेर सार्वजनिक भएका विषय गम्भीर रहेको बताउँदै उनले नेपाल संयुक्त राष्ट्रसंघको आह्वानमा संसारका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि मात्रै नेपाली सेना जाने गरेको तर सरकारले अहिले आएर सैन्य गठबन्धनमा जोड्न खोजेको आरोप लगाए ।

उनले प्रश्न गरे, ‘कसको कमान्ड, ब्यानरमा नेपाली सेनालाई अगाडि लिन खोजिँदैछ ? नेपालको एउटा छिमेकीको ढोकैनेर गएर सैनिक गतिविधि गर्न दिने ?’