बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

तीन युरोपेली प्रधानमन्त्री सुरक्षा चुनौती चिरेर युद्धग्रस्त युक्रेनमा किन गए ?

बुधबार, चैत्र २ २०७८

काठमाडौँ l रुसले छिमेकी युक्रेनमाथि आक्रमण सुरुगरेयता पहिलोपटक विदेशी नेताहरू युक्रेन पुगेका छन् । चेक रिपब्लिक, पोल्याण्ड र स्लोभेनियाका प्रधानमन्त्रीहरु सुरक्षा चुनौति चिरेर राजाधानी किएभ पुगेका छन् ।

राजधानी किएभमा कर्फ्यू कायम रहँदा तीन छिमेकी देशका प्रधानमन्त्रीले आफ्नो साथ र समर्थन युक्रेनमा रहेको जेलेन्स्कीलाई भेटेर बताएका हुन् ।

युरोपियन युनियनले गम्भीर सुरक्षा चुनौति रहेको चेतावनी दिएको थियो । तर पोल्याण्डको योजनामा तीन देशका प्रधानमन्त्री जेलेन्स्कीसँगको भेटका लागि युक्रेन पुगेका हुन् ।

चेक गणतन्त्रका प्रधानमन्त्री पित्र फिलाले युक्रेन आफ्नो देशको स्वतन्त्रता रक्षाका लागि लडिरहेको बताएका छन्।

उनले जेलेन्स्कीसँगको भेटपछि ट्वीट गरेका छन्, ‘हामी तपाईँहरुको साहासी युद्धको सम्मान गर्छौँ । हामीलाई थाहा छ कि तपाईँहरु हाम्रो जीवनका लागि पनि लडिरहनु भएको छ । तपाईँहरु एक्लो हुनुहुन्नँ, हाम्रो देश तपाईँसँग छ ।’

पोल्याण्डका प्रधानमन्त्री मातेउज मोराविकीले युक्रेन पराजित भएमा युरोप अहिलेको जस्तो नरहने बताएका छन् । युक्रेन पराजित हुनु भनेको युरोप पराजित हुनु र अपमानित हुनु रहेको उनले लेखेका छन् ।

उनीहरुले स्लोभेनियाका प्रधानमन्त्री यानेज जान्साका साथमा गएर जेलेन्स्कीलाई भेट गरेका हुन् । गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण थाले यता युक्रेनी भूमिमा जेलेन्स्कीलाई भौतिक रुपमा भेट्न पुग्ने उनीहरु विश्वका पहिलो नेताहरु हुन् ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले तीन देशका प्रधानमन्त्रीलाई सम्बोधन गर्दै ‘तपाईँहरुको यात्रा युक्रेनका लागि समर्थनको शक्तिशाली प्रदर्शन हो’ भनेका छन् ।

युक्रेनको राजधानी किएभमा तीन देशका प्रधानमन्त्री तथा युक्रेनी राष्ट्रपति जेलेन्स्कीसहितको वार्ता । तस्बिर : पोल्याण्डका प्रधानमन्त्रीको ट्वीटर ह्याण्डल
भेटमा रुसमाथि ‘भयानक’ प्रतबिन्ध लगाउने सम्बन्धमा छलफल भएको युक्रेनका प्रधानमन्त्री डेन्सी शमिहालले ट्वीटरमा लेखेका छन् । यस्तै रुसलाई आतंकवादको समर्थनका रुपमा हिचान गर्ने बारे पनि छलफल गरिएको उनले उल्लेख गरेका छन् ।

किएभमा तीन देशका प्रधानमन्त्रीले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसहितसँग वार्ता गरिहँदा बिस्फोटको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सैन्य विमानमा यात्रा गर्दा रुसको तर्फबाट जोखिम हुने भएकाले तीन देशका प्रधानमन्त्रीले जोखिम उठाएर रेल यात्रा गरेर किएभ पुगेका हुन् ।

उनीहरु पोल्याण्डको वार्साबाट रेलमा लामो यात्रा तय गरेर त्यहाँ पुगेका हुन्। युक्रेनले उनीहरुको साहासका लागि धन्यबाद दिएको छ ।