बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आर्थिक संकटका कारण अफगानिस्तानका लाखौं मानिस भोकै मर्न सक्ने राष्ट्रसंघको चेतावनी

शुक्रबार, पुष ३० २०७८

सेना पुलिस र चिकित्सकले समेत तलब पाउन छाडे

काठमाडौं । आर्थिक संकटका कारण अफगानिस्तानका लाखौं मानिसको ज्यान जोखिममा परेको छ । अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानको खाता रोक्का गरिदिए पछि अफगानिस्तानका लाखौं मानिस गरिबीका कारण भोकै मर्ने अवस्थामा पुगेका हुन् ।

संयुक्त राष्ट्रसंघले अफगानिस्तानका दशौं लाख सर्वसाधारण मृत्युको मुखमा पुगेको भन्दै अफगानिस्तानको रोक्का गरिएका खाता फुकुवा गर्न आग्रह गरेको छ ।  

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले अफगानिस्तानको आर्थिक संकटले दशौं लाखको ज्यान लिने अवस्था आउन नदिन  
राष्ट्रसंघको ५ अर्ब डलरको मानवीय सहायता कोषमा सहयोग गर्न विश्व समुदायलाई अपिल गरेका छन् । साथै उनले   विश्व बैंक, आइएमएफलगायतलाई खाता फुकुवा गर्न पनि अनुरोध गरेका छन् । 

अत्यधिक चिसो र खानाका लागि जोहो गर्ने पैसा नहुदा यतिबेला  अफगान नागरिकको जीवन अत्यन्तै कष्टकर बन्दै गएको छ ।  दाताको सहयोगमा टिक्दै आएको अफगानिस्तानको अर्थतन्त्र तालिवानले सत्ता कब्जा गरेपछि धरासयी बन्दै गएको हो ।  

तालिवानको शासनलाई चुनौति दिन अमेरिकालगायत विश्व समुदायले अफगानिस्तानको सम्पति र खाता रोकेकाले त्यहाँको अर्थतन्त्र चरम संकटमा फसेको छ ।

अमेरिकाले मात्रै अफगानिस्तानको ७ अर्ब डलर रोकिदिएको छ । सबै तिरबाट नाकाबन्दी झेलेको अफगानिस्तानमा अस्पतालका चिकित्सक, सेना, पुलिस र सरकारी कर्मचारीले तलब पाउन सकेका छैनन् ।

राष्ट्रसंघका महासचिव गुटेरसले ८७ लाख अफगानीहरु अहिले पनि दुई छाक नपाउने अवस्थामा रहेको भन्दै त्यहाँको अर्थतन्त्रका लागि आवश्यक तरलता तत्काल उपलब्ध गराउन विश्व समुदायलाई आग्रह गरेका छन् ।