बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

स्मार्ट लकडाउन गर्ने सरकारको तयारी

शनिबार, पुष २४ २०७८

काठमाडौँ l प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण बढन नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। बैठकमा कोभिड भाईरसको ओमिक्रोन भेरियन्टको संक्रमणदर बढदै गएमा छिट्टै अर्को बैठक बोलाएर स्मार्ट लकडाउन गर्ने विषयमा पनि छलफल भएको छ।

शुक्रबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आफू संयोजक रहेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको बैठक बोलाई प्रधानमन्त्री देउवाले ओमिक्रोन भेरियन्टको संक्रमण बढन नदिन र संक्रमितहरुको उपचारमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।

त्यस अवसरमा उनले यसको संक्रमण दर बढन नदिन सीमा नाकाहरुलाई चुस्तदुरुस्त बनाउन र संक्रमितहरुको खाना र बस्नको आवश्यक व्यवस्था मिलाउनसचेत गराए।

संक्रमितहरुको परीक्षण, उनीहरुको उपचारको व्यवस्था र कोभिडविरुद्धको खोप लगाउने कामलाई पनि अझ तीव्रता दिन प्रधानमन्त्रीबाट निर्देशन भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए।

बैठकले संघीय सरकारले व्यहोर्नेगरी संक्रमितहरुको उपचार खर्च तत्कालका लागि भने स्थानीय सरकारले व्यहोर्ने विषयमा पनि छलफल गरेको छ।

मन्त्री खतिवडाले भने, ‘कोभिडको विषयमा केन्द्रित भएर छलफल भयो। ओमिक्रोनको बढने लहरको विषयमा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा कुरा भयो। नाकाहरुलाई कसरी अझ चुस्तदुरुस्त बनाउने अनि एन्टिजिन परीक्षण गर्दा देखिएका विरामीहरुको कसरी आईसोलेशनको व्यवस्था गर्ने, देखिएका विरामीहरुको थप परीक्षण बढाउने कुराहरु, उनीहरुको खाने, बस्ने सुविधाका कुराहरु। यी सबै पक्षमा कुरा भएको छ र खोप लगाउन अझ तीव्रता दिने र चाँडै नै बुष्टर खोपमा पनि जाने भन्ने छलफल भयो। प्रधानमन्त्रीबाट पनि त्यहीँ निर्देशन भयो।’

संक्रमितहरुको संख्या बढेर गएमा भिडभाड हुने सिनेमा हल, हिउँदे विदालाई ध्यानमा दिएर विद्यालयहरु बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा पनि छलफल गरिएको मन्त्री खतिवडाले बताए। बैठकले तेस्रो चरणको बुष्टर खोप पनि अघि बढाउने अनुमति दिएको छ।