काठमाडौं । सरकारले पर्व मनाउन गाँउ जानेहरुकालागि कोरोना विरुद्धको खोप लगाएर मात्रै काठमाडौं छाड्न आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले तिहारका लागि काठमाण्डौबाट बाहिरिने सबैलाई कोरोना विरुद्धको खोपको व्यवस्था गरिएको जनाएको छ ।
मन्त्रालयकाअनुसार आजदेखि काठमाण्डौ उपत्यकाबाट बाहिरिनेका लागि खोपको व्यवस्था गरिएको हो । त्यसका लागि काठमाण्डौबाट बस छुट्ने मुख्य पाँच ठाउँमा खोप केन्द्र राखिएका छन् ।
कलङ्की, बल्खु, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा रहेका खोप केन्द्रमा गएर खोप लगाउन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । पहिलो र दोस्रो दुवै मात्रा खोप दिइने छ ।
पहिलो मात्राको खोप लगाएकाले भने दोस्रो खोपका लागि खोप कार्ड अनिवार्य लैजानु पर्नेछ । अहिलेसम्म खोप नलगाएकाहरुले भने परिचय पत्र लैजानु पर्ने छ ।
परिचयपत्र भएका १८ वर्ष भन्दा माथिका सबैले अस्ट्राजेनेकाको खोप पाउने डाक्टर अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो । यी पाँच ठाउँबाट आज र भोलि खोप दिइनेछ ।
त्यसपछि थप निर्णय गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।