बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

तालिवानी नेताहरुबीच झगडा र किचलो , सफलताको विश्लेषणमै मतभेद

बुधबार, भाद्र ३० २०७८

काठमाडौं । सरकार गठनले पूर्णता नपाउदै तालिबानका शीर्ष नेताहरुबीच किचलो सुरु भएको छ । बीबीसीले छापेको समाचार अनुसार तालिबानका शीर्ष नेताहरुबीच गम्भीर विवाद र भनाभनको अवस्था आएको दाबी गरिएको छ ।

समाचारमा गएको हप्ताको अन्त्यतिर तालिबानका शीर्ष नेताहरुबीच अफगानिस्तानको राष्ट्रपति भवनमा भएको बैठकको क्रममा चर्काचर्की भएको उल्लेख छ । 
तालिबानका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर र मन्त्रिपरिषद्का एक सदस्यबीच चर्काचर्की परेको हो । अन्तरिम सरकारका उपप्रधानमन्त्री बरादर र शरणार्थीसम्बन्धी मन्त्री खलिल उर–रहमान हक्कानीबीच भनाभन भएको बताइएको छ  ।

अफगानिस्तानमाथि भएको विजयीलाई हेर्ने दृष्टिकोणमा दुवै नेताबीच भनाभन भएको हो । बरादरीले आफ्नो नेतृत्वमा कतारमा भएको कूटनीतिक पहलका कारण सफलता मिलेको बताएका थिए भने हक्कानीले सैन्य बलबाट अफगानिस्तान कब्जा गर्न सकिएको बताउदै आएका छन् ।

दुइ नेताबीच भनाभन भएसँगै उनीहरुका समर्थकहरुले पनि आपसमा झगडा गरेका थिए ।
पछिल्ला दिनहरुमा बरादर सार्वजनिक रुपमा देखिएका छैनन् ।

उनलाई नदेख्दा कतिपयले भने बरादरको मृत्यु भएको प्रचार समेत गरेका छन् ।  आफ्ना नेताको मृत्युको समाचार आएपछि तालिबानले बरादर जीवित रहेको भन्दै प्रष्टिकरण दिनु परेको थियो ।  
गत अगस्ट १५ मा तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रण कायम गर्दै अफगानिस्तानलाई ‘इस्लामिक इमिरेट्स’ घोषणा गरेको छ ।