काठमाण्डौं, श्रावण २९ । आज नाग पञ्चमी । घरको मूलढोकामाथि नागको चित्र टाँसी पूजा अर्चना गर्दै मनाइँदै छ । श्रावण शुक्लपक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताको पूजा गर्ने गरिन्छ । आजको दिन ब्राह्मण, पुरोहितहरु आआफ्नो जजमानकोमा पुगेर घरको ढोकामा गाइको गोबर, दूबोसहित नाग अंकित चित्र टास्ने गर्छन् । यसरी ढोका या मूल खाबोमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास छ । यसरी नागका तस्बिर टास्ने पुरोहितहरुलाई जजमानले गच्छे अनुसारको दक्षिणा, नैबेद्य र भोजन गराउने चलन छ ।
यस दिन विशेष गरी अष्टनाग अनन्त, वासुकी, पद्मनाभ, महापद्मनाभ, तक्षक, कुलीर, कर्कट र शंखपाल नागलाई पूजा गरिन्छ ।
नागपञ्चमीका दिन ललितपुरको धापाखेल, कर्कोटक नागको बासस्थान टौदह र नक्सालको नाग पोखरीमा विशेष मेला लाग्दै आएकोमा यस वर्ष भने कोरोनाका कारण मेला प्रभावित हुने भएको छ ।
नाग पञ्चमीसगै बर्षा घट्दै जाने र चाडवाडहरुको मौसम शुरु हुन्छ ।