काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साख गिरीसकेको पार्टीको लोकप्रियता बढाउनका लागि नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई जबरजस्ती नियुक्ति दिलाएका छन्।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाबमा राखी आफ्नो पार्टीको धुलिसात अवस्थालाई अलिकति भए पनि बौराउनका लागि प्रचण्डले कुलमान कथनी सुरु गरेका हुन्। उनले कुलमान नियुक्ति अघि नै प्राधिकरणमा उनको प्रवेशको विषयमा प्रचार गराएका थिए।
छोरी ज्वाँईलाई राजनीतिक नियुक्ति दिएर बदनाम भएका प्रचण्डले एउटी छोरीलाई भरतपुर महानगरपालिकाको मेयर जिताउनका लागि मतपत्र च्यात्ने र टोक्ने मान्छे समेत प्रयोग गरेका कारण लोकप्रियता खस्किएको थियो।
‘अहिले पनि बुहारीलाई मन्त्री बनाउन दबाब छ। बनाएको खण्डमा बदनाम हुने डरअघि नै कुलमानको नियुक्ति गरिएको हो’, स्रोतले भन्यो,‘कसैले विरोध गरे कुलमान कसले नियुक्त गरेको भनी साइबर हुइँया मच्चाउने तयारी छ।’
विवादीत व्यापारीसँगको संगत र लगानीका कारण प्रचण्डको बदनामी थामीनसक्नु भइसकेको अवस्थामा कुलमान नियुक्तिको क्रेडिटले बौरिन सक्ने अनुमान गरे पनि हितेन्द्रदेव शाक्य अदालत जाने तयारीको खबरले सबै चकनाचुर हुन लागेको पनि स्रोतको दाबी छ।
शाक्यले सर्वोच्च अदालतमा आफूलाई सरकारले अन्यायपूर्ण हिसाबले हटाएको भनी रिट हाल्ने तयारी गरेका छन्।