आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कोभिड संक्रमणको दर २० प्रतिशत भन्दा माथि, आज ३२ जनाको मृत्यु

बिहिबार, साउन २८ २०७८

काठमाण्डौं, श्रावण २८ । नेपालमा कोरोना संक्रमणको दर घट्न सकेको छैन । परीक्षण गरिएकामध्ये २० प्रतिशत हाराहारीमा संक्रमण भेटिनुले कोभिड नियन्त्रणमा समस्या भएको छ ।  निको हुने दर पनि घट्दै गएको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । आज मात्रै कोरोनाका कारण ३२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप तीन हजार दुई सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १५ हजार चार सय ६२ नमुना परीक्षण गर्दा तीन हजार दुई सय ६० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा परीक्षण गरिएकामध्ये २१ प्रतिशतमा सङ्क्रमण देखिएको छ । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ९८ हजार ६ सय ५१ पुगेको छ ।

यस्तै थप दुई हजार दुई सय ९४ जना निको भएसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ७७ हजार तीन सय ७७ जना पुगेको छ ।

  नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार दुई सय १२ जना पुगेको छ ।

अहिले नेपालमा ३८ हजार एक सय ८० जना सङ्क्रमित रहेकोमा सात सय ३७ जनाको आईसीयू र एक सय ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।