काठमाण्डौ, श्रावण २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारेको छ ।
केन्द्रीय कार्यालय टंगाल र प्रदेश कार्यालय इटहरीबाट खटिएको संयुक्त टोलीले बिहीबार प्रतिष्ठानमा छापा मारेको हो । उपकरण खरिद तथा ठेक्कासम्बन्धी काममा भ्रष्टाचार भएको आशंकामा सबै कागजात नियन्त्रणमा लिएको हो ।
प्रतिष्ठानमा व्यापक भ्रष्टाचार भएको भन्दै उजुरी परेको थियो । वीपी प्रतिष्ठानमा औषधि, उपकरण खरिद, भौतिक निर्माण लगायतका शिर्षकमा प्रतिष्ठानका पदाधिकारीहरूले मिलेमतो गरी बजार मूल्य भन्दा बढी मूल्यमा खरिद गरेको र ठेक्का लगाएको सूचना बाहिरिएपछि अख्तियारको टोेलीले प्रतिष्ठानमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको बताएको छ ।
नियम विपरीत उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर साह र लेखा प्रमुख तथा खरिद शाखा प्रमुख मिलेर प्रतिष्ठानमा करोडौं हिनामिना भएको उजुरी परे सगै अख्तियारले चासो देखाएको हो ।
अख्तियार टोलीले प्रतिष्ठानको लेखा शाखा, खरिद शाखा, स्टोर लगायतका शाखामा गई आबश्यक कागजपत्र नियन्त्रणमा लिएको छ ।