चार महिनादेखि विवादित बनेको लुम्बिनी प्रदेशको राजनीतिले आज नया कोर्स लिने भएको छ । विपक्षी गठबन्धनले तेस्रो पटक सम्म दर्ता गरेको अविश्वासको प्रस्तावमाथि निर्णय गर्न बुधबार दिउसो प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको छ ।
मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रोपटक अविश्वास प्रस्ताव दर्ता गराएका थिए । आज दिउसो १ बजेका लागि बोलाइएको विशेष अधिवेशनको सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
स्रोतका अनुसार आजै प्रस्ताव टेबुल गराएर निर्णय गरिने तयारी छ ।
यसअघि मुख्यमन्त्री पोखरेल विरुद्ध विपक्षी गठबन्धनले वैशाख ६ र २६ गते पनि अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । ६ गते दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल हुने दिन वैशाख १९ गते मुख्यमन्त्रीबाट पोखरेलले राजीनामा दिए लगत्तै एमालेको एकल बहुमत दाबीसहित किर्ते शैलीमा सोही दिन प्रदेश पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
विपक्षी गठबन्धन जसरी पनि अविश्वास प्रस्ताव आजै टुंग्याउने तयारीमा जुटेको छ । चलखेल हुन सक्ने भन्दै उसले गठबन्धनका सबै ४१ जना सांसदलाइ लुम्बिनीको एक होटलमा राखेको छ ।
लुम्बिनीमा एमालेका ३८ सांसद छन् । बहुमतका लागि ४१ सांसदको समर्थन आवश्यक पर्छ । लुम्बिनीमा हाल ८० प्रदेशसभा सदस्य कायम छ ।
विपक्षी दल नेपाली कांग्रेस १९, नेकपा माओवादी केन्द्र १८, जनता समाजवादी पार्टी ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ सांसद छन् । मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव पारित हुन ४१ मत आवश्यक पर्छ ।
एमालेकै कतिपय नेताले भने मुख्य मन्त्री पोखरेललाइ अविश्वास प्रस्तावको फेस गर्नु भन्दा पदबाट राजीनामा दिन सुझाउदै आएका छन् ।