काठमाडौं, साउन १८ । भन्सार विभागका अनुसार गत एक वर्षमा मात्रै देशमा ७० लाख तीस हजार मोबाइल सेटहरु भित्रिएका छन् । जसका लागि देशबाट ३६ अर्ब ९० करोड बराबरको रकम देश बाहिरिएको छ ।
गत वर्षको तुलनामा यस्तो मोबाइल आयात संख्यात्मक रुपमा हेर्ने हो भने ६१ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आयात ४३ लाख ६५ हजार रहेको थियो । रकम भने अघिल्लो वर्षको तुलनामा १ सय ३ प्रंतिशतले बढेको छ ।
यसरी संख्यात्मक रुपमा भन्दा बाहिरिने रकम बढि भएको आधारमा बिश्लेषण गर्ने हो भने महंगा मोबाइलको आयात बढेको देखिन्छ ।
बिशेषगरि अहिले २५ देखि ३० हजार रेन्जका मोबाइलहरुको बिक्री बढेको छ । महामारी फैलिएसँगै वित्तीय कारोबार मात्रै होइन पठपाठन पनि डिजिटल माध्यमबाट भैरहेकाले मोबाइलको खपत बढेको हो ।
अनलाइन शिक्षासँगै मोबाइल बजारमा भने ग्राहकको भिड बढेको छ । महामारीमा अन्य व्यवसायी कसरी व्यवसाय बचाउने होला भन्ने सोचमा रहेका बेलामा मोबाइल बिक्रेताहरुले भने राम्रो आम्दानी गरेका छन् ।
मोबाइलमा यसअघि अंकित मूल्यमा पसलेहरुले केहि छुुट दिने गरेकामा अहिले भने माग बढेपछि ग्राहकले त्यस्तो छुट पाएका छैनन् ।
मोबाइल आयातबाट राज्यले पनि केहि आम्दानी भने गरेको छ। विभागका अनुसार मोबाइलमा लाग्ने करबाट राज्यले ५ अर्ब ८४ करोड प्राप्त गरेको छ । अघिल्लो वर्ष २ अर्ब ८७ करोड प्रांप्त गरेकोमा यस्तो राजस्व १ सय २ प्रतिशतले बृद्धि भएको छ।
आर्थिक कारोबार मात्रै होइन, पठनपाठनका लागि पनि इन्टरनेटको प्रयोग बढेपछि यता मोबाइले खपत पनि ह्वात्तै बढेको मोबाइल ब्यापारीहरु बताउँछन् ।
मोबाइल आयात ह्वात्तै बढेपनि यो पहिला जस्तो मनोरञ्जनका लागि मात्रै नभई शिक्षाका लागि प्रयोग भएकाले यसलाई नकारात्मक रुपमा लिन नहुने भन्सार बिभागका अधिकारीहरुको तर्क छ।
महामारी रहेसम्म अनलाइन शिक्षाका लागि प्रयोग भएका मोबाइलको खपत बढ्दै जाने देखिन्छ । तर, महंगा भन्दा पनि उपयोगी फोनको प्रयोग बढाउन सके अनलाइन शिक्षा सहज त हुन्छ नै यसले बाहिरिने रकममा पनि केहि नियन्त्रण गर्न सक्छ ।