काठमाडौँ l कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको ११ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सर्वोच्च अदालतको फैसलापछि गठन भएको नेपाली काँग्रेसका सभापति देउवा नेतृत्वको सरकारमा अहिले चारजना मात्र मन्त्री छन्।
हालै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री बन्न आफ्ना ४९ जना सांसदले निकै दबाब दिएकाले आफु तनावमा रहेको भनि देदै आएको अभिव्यक्तिले जनाउँछ प्रधानमन्त्री शेरबहादुर देउवाले किन अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेनन् भन्ने ।
एकातिर सत्ता गठबन्धन दल माओवादीमा सबै सांसद मन्त्री बन्न खोज्नु, जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव पक्षको किचलो कायमै हुनु, कांग्रेसमै पनि मन्त्री बन्न हानाथाप गर्ने बढी भएकाले देउवा सरकारले राम्रो काम गर्न सकेको छैन । यही कमजोरीलाई लिएर बालकोट पुगेका एमाले अध्यक्ष केपी ओलीले चलखेल गर्न थालिसकेका छन् ।
एमालेको माधवकुमार नेपाल समूह देउवा सरकारमा सामेल हुने कि नहुने भन्ने अझै स्पष्ट छैन । सोही कारण पनि सरकारले पूर्णता नपाएको हो । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सकेसम्म सरकारमा सामेल हुने सबै पार्टीलाई समेटेर एकैचोटि विस्तार गरौं भन्ने मनसाय देखिएको छ ।
जसपा विवाद निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतमा पुगेकाले पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो । महन्थ ठाकुर अझै पनि बालकोटको रिमोट कन्ट्रोलबाट सञ्चालित भएको उपेन्द्र यादव पक्षको आरोप छ ।
यता कांग्रेसमा भने ठेकेदार र व्यापारीहरू मन्त्री बन्न निकै सल्बलाइरहेका छन् । बालुवाटारमा अहिले सैद्धान्तिक निष्ठावान भएका नेताभन्दा पनि व्यापारी र ठेकेदार नेताहरूको आउजाउ बाक्लो भएको देखिएको छ । त्यसैले पनि प्रधानमन्त्री देउवालाई मन्त्री छान्न सकस भइरहेको छ । रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला समूहलाई मन्त्रीको भागबन्डाले गर्दा देउवाले सहजै काम गर्न पाउलान् भन्ने कसैले विश्वास गरेका छैनन् ।