आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सवारी दुर्घटनामा चार जनाको मृत्यु 

आइतबार, साउन १० २०७८

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका–१० सुकुटे बजारमा बागमती प्रदेश ०२–०१८ प ४८३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–७ बस्ने २४  वर्षीय एलकेश मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

कास्कीकोे पोखरा महानगरपालिका–२६ बुढीबजारस्थित सडकमा ग.१ च ९२४५ नम्बरको भेन र ग.२१ प १२५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने दोलखा माली गाउँपालिका घर भएका २३ वर्षीय विनोद खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जना र भेनमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । भेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी कास्की, पोखरा महागरपालिका–२५ हेम्जास्थित सडकमा ग.१ त ६७४३ नम्बरको ट्याक्टर ढुङ्गामा ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही महानगरपालिका–१६ बाटुलेचौर बस्ने तनहुँ शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटार घर भएका २३ वर्षीय सोम बहादुर कुमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

चितवनको रत्ननगर नगरपालिका–३ सहिद स्मृति क्याम्पस नजिक सडकमा रिक्सालाई बाग्मती प्रदेश ३–००२ प ७०५३ नम्बरको मोटरसाइकलले शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार रत्ननगर नगरपालिका–५ बस्ने ३० वर्षीय सन्देश रिजालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।