आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

गगनलाई पछार्दै स्वास्थ्यमन्त्रीमा शशांकको पक्का, अरू को-को बन्दैछन् मन्त्री ?

मंगलबार, साउन ५ २०७८

काठमाडौँ l प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन् । मन्त्रिमण्डल विस्तारको चर्चा भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पूर्वमन्त्री गगन थापाको चर्चा अधिक रहे तापनि देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई रिझाउन शशांकलाई उपप्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्री बनाउने पक्षमा छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्नुअघि कांग्रेसमा मन्त्री छान्ने प्रयास भइरहेको छ। विषम परिस्थितिमा सरकारको नेतृत्व गर्नु परेकाले ‘सक्षम’लाई मात्र सिफारिस गर्न देउवाले आग्रह गरेका छन्। 

कांग्रेसमा मन्त्रीका आकांक्षीहरुको संख्या ठूलो छ। तर, गठबन्धनको सरकारमा कांग्रेसले बढीमा ८ मन्त्रालय पाउने सम्भावना रहेको देउवा निकट नेताहरू बताउँछन्। त्यसमा पनि माधवकुमार नेपाल समूह सरकारमा आउने अवस्थामा कांग्रेसले ६ वटा मन्त्रालय मात्रै पाउनेछ।  

देउवाले पहिलो चरणमा कांग्रेसबाट बालकृष्ण खाँडलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाएका छन्। दुवै देउवा निकट नेता हुन्। अब कांग्रेसले बढीमा ६ वटा मन्त्रालय पाउनेछ। तर, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले चार वटा मन्त्रालयमा दाबी गरिरहेको छ।

पौडेललाई चार मन्त्रालय दिन देउवा सहमत नरहेको देउवा निकट नेताको दावी छ। देउवा समूहबाट दोस्रो चरणमा पुष्पा भुसाल मन्त्री बन्ने लगभग निश्चित रहेको देउवा निकट स्रोत बताउँछ। ‘हाम्रो समूहबाट भुसालजी मन्त्री बन्ने लगभग निश्चित बनेको छ,’ देउवा निकट स्रोतले भन्यो, ‘डा. नारायण खड्कासमेत मन्त्री बन्ने सम्भावना धेरै छ।’ 

महामन्त्री डा. शशांक कोइरालाले उपप्रधान तथा स्वास्थ्यमन्त्रीको दावी गरेका छन्। कोइराला मन्त्री नबने उनको सिफारिसमा डा. मिनेन्द्र रिजाल मन्त्री बन्ने स्रोत बताउँछ। रामचन्द्र पौडेलले भने दिलेन्द्र बडुलाई मन्त्री बनाउन लबिङ गरिरहेका छन्। सिटौला समूहबाट उमाकान्त चौधरीलाई मन्त्री बनाउने तयारी भएको बताइएको छ।