काठमाडौँ l तत्कालीन प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाएको छ । ओलीले आईतबार नै स्थायी कमिटीको बैठक बोलाएका थिए भनि सोमबारका केन्द्रीय कमिटी बैठक बोलाएका हुन l
पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले केन्द्रीय कमिटीको सोमबारको बैठक विधान महाधिवेशनमा केन्द्रित हुने जानकारी दिए । समसामयिक राजनीतिबारे छलफल भए पनि बैठकको एजेण्डा विधान महाधिवेशन भएको उनले बताएका छन् ।
‘मुख्यगरी विधान महाधिवेशनमा बैठक केन्द्रित हुन्छ,’ तामाङले भने । एमालेले साउन २५–२७ गते विधान महाधिवेशन आयोजना गर्ने निर्णय गरिसकेको छ ।
प्रतिनिधि सभामा आईतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने र अनुपस्थित हुने सांसदहरूबारे समेत बैठकले अनुशासनको कारवाही गर्ने तयारी गरिएको छ । ‘हिजोको घटनाबारे पार्टीको अनुशासनको कुरा अगाडि बढ्छ,’ कार्यालय सचिव तामाङले भनेका छन् ।
नेकपा एमालेका १२१ सांसदमध्ये ३३ जनाले पार्टीको निर्णयको उल्लंघन गरेका थिए । नेता माधवकुमार नेपाल पक्षका १४ र ओली पक्षका ८ जना गरी २२ जनाले देउवालाई विश्वासको मत दिएका छन् भने नेपाल पक्षका १० जना मतदान प्रक्रियामा अनुपस्थित रहेका हुन् । सांसद भीमबहादुर रावलले मतदानअघि नै राजीनामा दिएका थिए ।