काठमाडौँ l प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चले दिएको फैसलाप्रति आक्रोश पोखेका छन्। प्रधानमन्त्री पदबाट बाहिरिनु अघि ओलीले देशवासीको नाउँमा सम्बोधन गर्दै अदालतको फैसलाले देशको राजनीतिकलाई दिशाहीन बाटोमा अघि बढाउने दाबी गरेका हुन्। उनले अत्याधिक न्यायिक सक्रियताको माध्यमबाट संविधानलाई नै अदालतले संशाधन गरेको आरोप लगाए।
ओलीले भने, ‘पार्टीबाट चुनाव लडेका सांसदले जो सुकैलाई समर्थन गर्न सक्छन्, मतदान गर्न सक्छन्, उनीहरुलाई कारबाही गर्न मिल्दैन भन्ने भनेर संविधानको अपव्याख्या भएको छ। अदालतले संविधानको संशोधन गरेको छ। यसले राजनीतिक मूल्य चुकाउनुपर्छ।’
धारा ७६ (५)मा दलीय नियन्त्रण लाग्दनै भन्ने संवैधानिक इजलासको व्याख्याप्रति ओलीले कटाक्ष गरे। ओलीले भने, ‘दलीय आधारमा प्रतिनिधि निर्वाचत हुने हाम्रो अभ्यास हो। राजनीतिक विषयको निरुपण गर्नु हुँदैन थियो, त्यस बारेमा नजिर पनि स्थापित भएका छन्। अत्याधिक न्यायिक सक्रियताले हामीलाई कहाँ पुर्याउँछ?’
सम्बोधनका क्रममा ओलीले अदालतको फैसलाका कारण लोकतान्त्रिक व्यवस्था, शक्ति सन्तुलन र नियन्त्रण नै खलबलिन पुगेको दाबी गरे।
मनमोहन अधिकारीले गरेको विघटन अदालते बदर गर्दा देशमा राजनीतिक अन्योलता र अस्थिरता देखिएको दाबी गर्दै अहिले पनि त्यस्तै अवस्था आउने उल्लेख गरे।
‘२०४६ सालपछि देखिएको विकृति अब नहोस् भन्ने चिन्ता हो। विगतमा पनि हामीले यस्तै निर्णय देखिएको हो। २०५२ सालमा मनमोहन अधिकारले गरेको विघटनलाई बदर गर्दा पनि राजनीतिलाई गतल कोर्समा लगिएको थियो,’ उनले अगाडि भने, ‘हाम्रो चिन्ता राज्यका अंगहरुको सन्तुलन नै खलबलिएर लोकतन्त्र नै सकिन्छ किन भन्ने हो।’
उनले आफ्नो विश्वास अझै पनि जनताप्रति रहेको दाबी गर्दै उनले अदालदतको आदेशबाट प्रधानमन्त्री बनेको भन्दै शेरबहादुर देउवालाई व्यंग्यसमेत गरे। अदालतले जनताको विश्वास गुमाएको दाबी गरे।
ओलीले भने, ‘राज्यका निकायमाथि जनताको विश्वास गुम्यो भने त्यसको दुस परिणाम आउन सक्छ। मेरो विश्वास जनताप्रति छ। आज जनताको जनादेशका कारण होइन, अदालतको परमादेशको आधारमा प्रधानमन्त्री बन्नुभएको छ। प्रधानमन्त्री पदबाट बाहिरिनु पर्दा मलाई कति पनि चिन्ता छैन।’
ओलीले आफ्नो तीन वर्षे कार्यकाल सफल भएको रटान लगाए। आफूले विकासको नयाँ शोच ल्याएको र त्यसलाई असाधरण ढंगले अघि बढेको उल्लेख गरे। ‘विकासका लागि यो सरकारले नयाँ नयाँ भिजन दिएर, असाधरण विकास गर्यो। आफ्नो काम प्रति खुशी छु। अब कोरोना नियन्त्रण गर्ने चरणमा प्रवेश गरेको छ, हामी सबै जनतालाई खोप लगाउन सक्ने अवस्थामा पुगेका छौँ।’