काठमाडौं l प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ दोस्रो पटक संसद भंग गर्दै चुनाव घोषणा गरे । गत जेठ ७ गते शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्तिक २६ र मंसिर ३ मा चुनाव गर्ने मिति तोक्यो। र, राष्ट्रपति विद्यादेवि भण्डारीले त्यसलाई सदर गर्दै राति १ बजे संसद विघटन गर्दै चुनावको घोषणा गरिन्।
यसअघि प्रधानमन्त्री ओलीले २०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाखमा निर्वाचन गर्ने घोषणा गरेका थिए। तर सर्वोच्च अदालतले ६६ दिन पछि फागुन ११ गते सरकारको सो निर्णय उल्टाइदिएको थियो।
दोस्रो पटक भएको विघटनको ४५ दिनपछि आज सबै बहस सकिँदै छ। आइतबार प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस सकिएर रिट निवेदकका तर्फबाट जवाफी बहस सुरु भएको छ। जवाफी बहसका लागि तीन घण्टाको समय तोकिएको छ। रिट निवेदक पक्षको जवाफी बहस सकिएपछि अदालतका सहयोगी एमिकस क्युरीले बहस गर्ने छन्। त्यसका लागि दुई घण्टाको समय निर्धारण गरिएको छ। आज सम्पूर्ण बहस सकिने सर्वोच्च स्रोतले जनाएको छ।
निर्धारित समय अनुसार अब जम्मा चार घण्टा मात्रै बहस बाँकी रहेकाले सोमबार सकिने सर्वोच्चले जनाएको छ।
अब निवेदकतर्फबाट जवाफी बहस दुई घण्टा तथा नेपाल बार र सर्वोच्चबाट झिकाइएका चारजना एमिकस क्यूरीले दुई घण्टा बहस गरेपछि विघटन मुद्दाको बहस सकिनेछ।
जवाफी बहसकाे निर्धारित समयमा आइतबार वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले एक घण्टा लिएका थिए भने सोमबार बाँकी समयमा वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाललले विपक्षी र इजलासले उठाइएका प्रश्नको जवाफ दिनेछन्।
आइतबार मुद्दासँग सम्बन्धित गम्भीर संवैधानिक प्रश्न सोधे पनि वरिष्ठ अधिवक्ता श्रेष्ठले राजनीतिक भाषणबाजी गरेर समय बिताएका थिए।
सर्वोच्च बारले एमिकस क्यूरीका रुपमा वरिष्ठ अधिवक्ताद्वय कोमलप्रसाद घिमिरे र प्रकाशबहादुर केसीलाई पठाएको छ भने नेपाल बारले राघवलाल वैद्य र उषामल्ल पाठक पठाएको छ। स्रोतका अनुसार सोमबार निर्धारित कार्यतालिका अनुसार बहस सकियो भने फैसला आजै सार्वजनिक हुने संभावना धेरै रहेको छ।