आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

गरिबलाई झनै गरिब बनाउने करको हिस्सा बढेको बढ्यै, श्रमिकको आम्दानी बढ्न सकेन

शुक्रबार, असार १८ २०७८

काठमाडौं,असार १८ । ब्यक्ति तथा कम्पनीको आम्दानी बढेपछि त्यसबाट कर असुलेर निम्न मध्यम तथा निम्न बर्गियहरुलाई राज्यले सहुलियत दिने गर्छ । यसरी आयकर मार्फत असुलेको रकमबाट गरिब जनतामाथि लगानी गरेर गरिब झनै गरिब हुनबाट बचाउने गरिन्छ ।

तर नेपालमा भने यसरी  लिने आयकर तथा पुँजीगत लाभकरको हिस्सा करमा बढ्न सकेको छैन । अहिले पनि गरिबलाई झनै गरिब बनाउने भ्याट, अन्तशुल्क र भन्सारको हिस्सा बढि देखिन्छ।

कर लगाइएको ब्यक्तिबाट पुर्ण रुपमा असुल गर्ने करलाई प्रत्यक्ष कर भनिन्छ । बिशेषगरि आय कर, सम्पति कर, घरजग्गा कर प्रत्यक्ष कर भित्र पर्छन् । ब्यक्ति वा कम्पनीको आम्दानी राम्रो भएपछि यसरी प्रत्यक्ष करको हिस्सा कुल राजस्वमा बढ्दै जान्छ । तर हाम्रोमा लामो समयदेखि  राजस्वमा प्रत्यक्ष करको हिस्सा बढ्न सकेको छैन ।

त्यस्तै अप्रत्यक्ष कर ब्यक्तिको आम्दानीमा नभई बस्तु तथा सेवाको कारोबारमा लाग्ने कर  हो । भन्सार, अन्तःशुल्क मूल्यअभिबृद्धि यसमा पर्छन् । करमा अन्तः शुल्क र भन्सारको योगदान पछिल्लो समय बढ्दै गएको देखिन्छ । 

प्रत्यक्ष करको हिस्सा जम्मा ३० प्रतिशत मात्रै छ भने अप्रत्यक्ष करको हिस्सा ७० प्रतिशत रहेको छ ।

मुलुकमा  औद्योगिक उत्पादनसँगै  प्रतिब्यक्ति आयमा उल्लेख्य बृद्धि हुन नसक्दा कुुल राजस्वमा  प्रत्यक्ष करको हिस्सा बढ्न सकेको छैन । मुलुक समृद्ध हुँदै जाँदा अप्रत्यक्ष कर कम हुँदै जानु पर्ने भएपनि आन्तरिक उत्पादन बढ्न नसक्दा यसो हुन सकेको छैन ।

चालु आर्थिक वर्षमा सरकारले ९ खर्ब ५९ अर्ब राजस्व उठाउने लक्ष्य लिएको छ । जसमध्ये ८ खर्ब ७१ अर्ब करबाट उठाउने लक्ष्य छ । यसमा २ खर्ब १३ अर्ब प्रत्यक्ष कर र ६ खर्ब ५८ अर्ब अप्रत्यक्ष करबाट उठाउने लक्ष्य लिइएको छ । अर्थात कर राजस्वमा ७२ दशमलव छ सात प्रतिशत अप्रत्यक्ष करले ओगट्ने र २७ दशमलव तीन दुई प्रतिशत मात्रै प्रत्यक्ष करको हिस्सा हुने अनुमान गरिएको छ ।

५ वर्ष यताको तथ्यांक केलाउने हो भने अप्रत्यक्ष करको हिस्सा ७० प्रतिशत भन्दा माथि छ । आर्थिक वर्ष २०७३÷७४ मा उठेको राजस्वमा प्रतयक्ष करको हिस्सा २६ दशमलव शुन्य तीन, आर्थिक वर्ष २०७४÷०७५ मा २४ दशमलव शुन्य छ प्रतिशत थियो ।

त्यसैगरि आर्थिक वर्ष २०७५÷०७६ मा २५ दशमलव पाँच शुन्य र २०७६÷७७ मा आउँदा ३० प्रतिशतमा पुगेको थियो । अर्थात बिगत ५ वर्षमा प्रत्यक्ष करको हिस्सा ३० प्रतिशत भन्दा माथि जान सकेको छैन ।

५ वर्ष अघि राजस्वमा अन्त शुल्कको योगदान १५ दशमलव तीन एक प्रतिशत रहेकामा गत वर्षसम्म बढेर १८ दशमलव चार एक  प्रतिशत पुगेको छ ।  ५ वर्ष अघि  राजस्वमा १७.७७ प्रतिशत योगदान रहेको भन्सारको  योगदान गत वर्षसम्म आउँदा २० दशमलव एक आठ प्रतिशत पुगेको देखिन्छ । अर्थात अप्रत्यक्ष करमा पनि भन्सार र अन्तशुल्कको योगदान बढ्दै गएको छ । औद्योगिककरणको अभावका कारण राजस्वमा प्रत्यक्ष करको योगदान बढ्न सकेको छैन ।