आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रचण्ड अभिव्यक्तिको अर्थ के ? “राष्ट्रपति भन्दा त राजा नै ठीक”

बिहिबार, असार १० २०७८

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजाको समर्थनमा बोल्न थालेका छन् । विपक्षी गठबन्धनका ५ दलले गरेको सम्पादकसँगको अन्तक्र्रियामा बोल्दै प्रचण्डले बेइज्जत भइसकेको अहिलेको राष्ट्रपति विद्यादेवी भण्डारीभन्दा त राजा नै ठीक रहेको प्रतिक्रिया दिए ।

प्रचण्डले राष्ट्रपति भण्डारीले इज्जत, मान र प्रतिष्ठा गुमाएको दाबी गर्दै अहिलेको राष्ट्रपतिभन्दा राजा नै ठीक रहेका बताए । ‘कमसेकम राजाको सान त थियो,’ प्रचण्डले भने । प्रचण्डले नै राजा ठीक भनेपछि राजतन्त्र फर्किने बहस चर्किने भएको छ ।

आफूहरूको संघर्ष कसलाई प्रधानमन्त्री बनाउने र हटाउनेभन्दा पनि संविधान, लोकतन्त्र र राष्ट्रिय हितका लागि भएको प्रचण्डले बताए ।

‘एउटा प्रधानमन्त्री बनाउन र एउटा हटाउनकै लागि मात्रै यो गठबन्धन बनेको होइन । यो संघर्ष संविधान, लोकतन्त्र र राष्ट्रको हितको पक्षमा उभिने र नउभिने बीचको लडाइँ हो । सिस्टम बचाउने वा नबचाउने भन्ने लडाइँ हो । यसमा पाँचै दलमा समझदारी बनेको छ । यो प्रधानमन्त्रीका निम्ति भएको संघर्ष होइन,’ प्रचण्डले भने ।

सैद्धान्तिक सहमतिका साथ ५ दलको गठबन्धन बनेको प्रचण्डले बताए । ‘पहिलो, संविधानको रक्षा गर्ने र समयानुकूल परिमार्जन गर्दै लैजाने, दोस्रो, लोकतन्त्रका आधारभूत मान्यताको रक्षा गर्ने र तेस्रो, देशको राष्ट्रियता रक्षा गर्ने भन्ने सिद्धान्तमा यो गठबन्धन बनेको हो,’ उनले भने ।

विपक्षी गठबन्धनलाई पछिसम्म कसरी लैजान सकिन्छ भन्नेबारे ५ दलबीच लामो बहस र छलफल भएको प्रचण्डले बताएका छन् ।