आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मृत अवस्थामा फेला

बुधबार, असार ९ २०७८

काठमाडौं । दक्षिणकाली नगरपालिका–७ दक्षिणकाली मन्दिर परिसरको १ नम्बर पिकनिक स्पोटको शौचालयभित्र हाल नाम, थर, वतन नखुलेकी ३० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी दक्षिणकाली नगरपालिका–८ मख्खु बेसी बागमती खोलामा ललितपुर गोदावरी नगरपालिका–८ डुकुछाप बस्ने २८ वर्षीय सानुमाईला दनुवार मंगलबार मृत अवस्थामा फेला परेका छन् ।  दार्चुला, महाकाली नगरपालिका–४ बाङगाबगरस्थित सडकको निर्माणाधिन पुल मुनि हिमपाइपभित्र सोही ठाउँ आर्मी गेट नजिक बस्ने दुहु गाउँपालिका–४ घर भएका मन्जु कुँवरको छोरा १२ वर्षीय रमित कुँवर र ब्याँस गाउँपालिका–४ सुनसेरा घर भई बाङगाबगड बस्ने अमर सिँह खत्रीको छोरा १७ वर्षीय प्रकाश खत्री मंगलबार मृत अवस्थामा फेला परेका छन् । सोही ठाउँ नजिकै नुहाउनेक्रममा २ जना हिमपाइपभित्र पसेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले खोजी गर्नेक्रममा उनीहरूको शव फेला पारेको हो । तेह्रथुम, आठराई गाउँपालिका–४ कैजले बस्ने ३५ वर्षीया हरिकला मगर सोही गाउँपालिका हिउदे खोलास्थित छाँगे दहको ओडारभित्र मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।