काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए ।
उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको मन्त्रालय स्रोतले बताएको छ ।
पूर्वराजाको सुरक्षा कटौतीमा पुनर्विचार
पूर्वराजाको सुरक्षा कटौतीमा पुनर्विचार गर्न शाहका स्वकीय सचिव सागरप्रसाद तिमिल्सिनाले गृह मन्त्रालयलाई एक पत्र लेख्दै नयाँ कार्यविधिबारे पुनर्विचार गर्न आग्रह गरेका छन् ।
मन्त्रिपरिषद्ले केही समयअघि पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व राजा, पूर्व गृहमन्त्री, पूर्व प्रधानन्यायाधीश लगायतका विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि २०७७ पारित गरेको थियो।
स्वीकृत नयाँ कार्यविधि अनुसार पूर्वराष्ट्रपतिले अब २१, पूर्व धानमन्त्रीले १८, पूर्वराजाले १६, पूर्व उपराष्ट्रपतिले ११ र पूर्व गृहमन्त्रीले दुई जना सुरक्षाकर्मी राख्न पाउने छन्। यस्तै पूर्व प्रधानन्यायाधीशलाई दुई जना सुरक्षाकर्मी दिइने कार्यविधिमा उल्लेख छ।
हाल पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि ९९ जना सुरक्षाकर्मी खटाइदैं आइएको छ। जसअनुसार पूर्वराजा तथा पूर्वरानीका लागि २५, पूर्व युवराज्ञीको लागि १५, पूर्व मुमा बडामहारानीका लागि ९, सवारी चालक १० र नागार्जुन सुरक्षा बेसका लागि ४० जना सुरक्षाकर्मी हाल सुरक्षाका लागि खटिँदै आइरहेका छन्।
नयाँ कार्यविधिले तोकेको मापदण्ड अनुसार भने पूर्वराजपरिवारका लागि १६ जना सुरक्षाकर्मी दिइने कार्यविधिमा उल्लेख छ।
तिमिल्सिनाले नयाँ कार्यविधि अनुसार सबै राजपरिवारका सदस्यहरूको सुरक्षाका लागि पर्याप्त नहुने भएकाले सुरक्षाकर्मीको सङ्ख्याको लागि पुनर्विचार गरिदिन भन्दै गृह मन्त्रालयमा पत्र पठाएका छन् ।
गृह मन्त्रालयबाट कार्यविधि कार्यान्वयनका लागि हालै पारित मापदण्डसहित निर्देशन आएको र त्यही क्रममा जनशक्ति तथा जिम्मेवारी हेरफेर गर्न थालिएको प्रहरी र सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ ।
गृहको निर्देशनपछि सातवटै प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीको सुरक्षामा खटिएका सशस्त्र प्रहरी फिर्ता बोलाउन थालिएको छ।
पूर्व विशिष्टको सुरक्षाका लागि गृह मन्त्रालयले नयाँ मापदण्ड बनाएर कार्यविधि विपरीत सुरक्षाका बहानामा बढी सुरक्षाकर्मी राखिएको पाइएपछि सरकारले त्यसरी राखिएका सुरक्षाकर्मीलाई फिर्ता ल्याउन कदम चालेको हो।