काठमाडौँ। दक्षिणकाली नगरपालिका–१, खहरेमा भेटिएको दुईजनाको शवको सनाखत भएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार मृत्यु हुनेमा नुवाकोटका १६ वर्षीया अर्जुन खड्का र काभ्रेका १८ वर्षीया मंगल तामाङ छन् ।
प्रहरीका अनुसार खड्का असनको टेउडा स्कुलमा कक्षा १० मा पढ्ने विद्यार्थी हुन् भने तामाङ क्षेत्रपाटीको जिपी स्कुलमा कक्षा १० मा पढ्थे ।दुवै जना बांगेमुढामा बस्ने गरेको पाइएको काठमाडौं प्रहरीका प्रवक्ता एवं एसपी रमेशबहादुर बस्नेतले बताए ।
शुक्रबार दिउँसो दुई जनाको शव भेटिएलगत्तै काठमाडौं प्रहरी प्रमुख सिंह, एसपी बस्नेतसहितको टोली घटनास्थल पुगेको थियो ।
केन्द्रीय प्रहरी कुकुर विद्यालयबाट विशेषज्ञ कुकुर ल्याएर घटनास्थलमा छाडिएको थियो र फरेन्सिक विज्ञसहितको टोलीले जाँच गरेपछि शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । घटनास्थल नजिकै सल्फस नामक विषादीको बट्टा भेटिएको छ । थप अनुसन्धान जारी छ ।