बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

भ्यालेन्टाइन डेमा अनुमानभन्दा बढी गुलाफ बिक्यो, करिब २ करोडको कारोबार

सोमबार, फाल्गुन ३ २०७७

काठमाडौं । प्रणय दिवसको अवधिमा यसपाली करिब २ करोड रुपैयाँको गुलाफको फूलको बिक्री भएको छ।

नेपाल फ्लोरिकल्चर एसोसिएसनले कोभिड(१९ का कारण यो वर्षको भ्यालेन्टाइन डेमा बजारमा माग घट्ने अनुमान गरिए पनि सोचेभन्दा राम्रो व्यापार भएको जनाएको हो।

सर्वसाधारणहरु पहिले झैं निर्धक्क भएर हिँडडुल र जमघट गर्न थालेकाले व्यवसायीहरुले सोचेभन्दा बढी फूलको कारोबार भएको एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए। उनले भने ुयो पाली भ्यालेन्टाइनमा गुलाफको बिक्री हामीले अनुमान गरेभन्दा राम्रो भयो।ु

यस अघिका अरु चाडपर्वमा यति धेरै उत्साहजनक सहभागिता थिएन। तर अब उपभोक्ताहरुमा कोरोनाको कुनै  पनि त्रास देखिएन। कोभिडपछि भ्यालेन्टाइन डे सबैभन्दा बढी उल्लासमय रूपमा मनाएको कारण पनि फूलको माग उच्च भयो,ु श्रेष्ठले भने।

अनुमान भन्दा बढी खपत

एसोसिएसनले यो वर्ष करिब एक लाख ५० हजार वटा स्टिम गुलाफ खपत हुने अनुमान गरेको थियो। माग नहुने हो की भनेर पहिले एक लाख ४० हजार स्टिम फूलको आयात गर्ने भनिए पनि पछि आयात पनि बढेर आएको एसोसिएसनको भनाइ छ। 

करिब २ लाखको स्टिम गुलाफको कारोबार भएको कसजुले जानकारी दिए। यसमा एक लाख ५० हजार वटाभन्दा बढी आयतित गुलाफ र ४० हजार स्वदेशमा उत्पादित गुलाफ रहेको छ।

आयात बढेर आए पनि स्वदेशी उत्पादन कम हुँदा यो वर्ष भ्यालेन्टाइनमा बजारको माग अनुसार गुलाफ पुगेन। यसपटक आयात गरिएको फूलको परिमाण पहिलेका वर्षहरुको भन्दा कम हो। पहिले एसोसिएसनले करिब एक लाख ८० हजार फूलको आयात गरेको थियो।

एक करोड रुपैयाँको फूल आयात 

भ्यालेन्टाइन डेका लागि भारतबाट करिब एक करोड रुपैयाँको फूलको आयात भएको छ। करिब २ करोड बराबरको फूलको कारोबार भएको पाइएको छ। 

एसोसिएसनले करिब एक करोड ५० लाखको बिक्री हुने अनुमान गरेको थियो। बजारमा फूलको अभाव र मूल्य बढी हुँदा आयातित र स्वदेशी गुलाफको बिक्री २ करोड रुपैयाँको गरेको छ। गत वर्ष करिब २ करोड ५० लाख रुपैयाँको फूलको कारोबार भएको थियो।

 अभाव हुँदा मूल्य बढ्यो

गुलाफको फूलको माग धेरै हुँदा बजारमा अभाव नै सिर्जना भयो। यसकारण  व्यवसायीहरुले फूलको मूल्य एसोसिएसनले तोकेको भन्दा ५० रुपैयाँसम्म बढी लिए।

एसोसिएसनले फूलको माग घटेको भन्दै मूल्य प्रति गुलाफ ८० देखि एक सय रुपैयाँसम्म तोकेको थियो। यो मूल्य पहिलेभन्दा ४० रुपैयाँ बढी हो। गत वर्ष प्रतिगुलाफ ६० देखि ८० रुपैयाँमा बिक्री भएको थियो।

बजारमा पर्याप्त मात्रामा फूल नहुँदा ग्राहकले प्रति गुलाफ एक सय ५० रुपैयाँसम्म तिर्नुपरेको थियो।

उपत्यकामा ६० प्रतिशत गुलाफको माग

हरेक वर्ष गुलाफको  माग भ्यालेन्टाइन डेको अवसरमा बढी हुन्छ। अन्य समयमा दैनिक ८ हजार गुलाफको माग हुनेमा भ्यालेन्टाइन डेको अवसरमा भने करिब २ लाख भन्दा बढी फूलको माग हुन्छ। 

गुलाफ तथा अन्य फूलको खपत ठूलो परिमाणमा उपत्यकामा हुने गरेको छ। ६० प्रतिशत फूलको व्यापार काठमाडौं उपत्यकामा हुन्छ भने ४० प्रतिशत उपत्यका बाहिरका पोखरा, बिराटनगर र बुटवल लगायतमा हुन्छ। 

कोभिडका कारण उत्पादनमा असर

गुलाफको उत्पादन वैशाखदेखि कात्तिकसम्म हुने गरेको छ। यो समयमा कोभिडको संक्रमण देखिएपछि लकडाउन भएको थियो। लकडाउनले कतिपय उत्पादन भएका गुलाफहरु बिक्री हुन पाएनन् भने कतिपय फार्महरु बन्द भए।

यसले गर्दा ४० देखि ५० प्रतिशत व्यवसायीहरुले उत्पादन कम गरेको एसोसिएसनले जनाएको छ। जाडो समयमा राम्रोसँग फूलको उत्पादन नहुने भएकाले भ्यालेन्टाइन डेको समयमा मात्र भारतबाट गुलाफको फूल आयात हुन्छ। 

व्यवसायिक खेती नहुँदा हरेक वर्ष गुलाफको फूलका लागि एक करोड रुपैयाँभन्दा बढी रकम बाहिरिने गरेको छ। गत वर्ष भ्यालेन्टानइन डेको समयमा पनि भारतबाट करिब एक करोड रुपैयाँभन्दा बढीको गुलाफ आयात भएको थियो। यो वर्ष पनि यही हाराहारीमा फूलको आयात भएको छ।

व्यावसायिक खेतीतर्फ आकर्षण

बजारमा स्टिम फूलभन्दा कृत्रिम फूल सस्तो मूल्यमा पाइन्छ। सस्तो पाइने हुनाले उपभोक्ताले कृत्रिम फूल खरिद गर्दा स्टिम फूलको व्यापारलाई असर परेको छ। यस कारण एसोसिएसनले व्यवसायिक रुपमा फूलको खेती गर्ने जनाएको छ।

उत्पादन बढी हुन सके स्टिम फूलको मूल्य कृत्रिम जत्तिकै सस्तोमा पाइने छ। हाल बजारमा कृत्रिम फूल प्रति पिस २५ देखि ३५ रुपैयाँ पर्छ। 

स्रोतः बिजमाण्डु डटकमबाट/सरला सुवेदी