बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

मुद्दामा ढिलासुस्ती, शपथमा हतारो

बिहिबार, माघ २२ २०७७

संवैधानिक परिषद्को सिफारिसमै चौतर्फी प्रश्न उठिरहेका बेला राष्ट्रपतिबाट नियुक्ति 
आफ्नै नेतृत्वको इजलासमा मुद्दा विचाराधीन रहँदै प्रधानन्यायाधीशबाट शपथ 
शपथ गराउने तर मुद्दाको पेसी नतोकिने हुँदा जानीबुझी पो हो कि भन्ने आशंकालाई बल पुर्‍याएको छ । त्यसरी हतारिएर नगएको भए के बित्थ्यो ?  – गौरीबहादुर कार्की पूर्वन्यायाधीश
 

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नै नेतृत्वको संवैधानिक इजलासमा दुई मुद्दा विचाराधीन रहेको अवस्थामा संवैधानिक निकायका ३२ पदाधिकारीलाई शपथ गराएका छन् । संवैधानिक परिषद्को बैठकमा उपस्थित नहुने सन्देश मंगलबार साँझ पठाएका प्रधानन्यायाधीश जबराले भोलिपल्ट बिहानै उनीहरूलाई शपथ गराएका हुन् ।

सिफारिसबारे चौतर्फी प्रश्न उठिरहेका बेला संवैधानिक परिषद् सचिवालयको पत्रका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई बुधबारै नियुक्त गरेकी थिइन् ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, संघीय संसद्को संयुक्त बैठक र समिति कार्यसञ्चालन नियमावली खारेजीको माग राखी दर्ता गरिएका दुई निवेदन सर्वोच्च अदालतमा जबराकै नेतृत्वको संवैधानिक इजलासमा विचाराधीन छन् । यी दुई विषय अहिलेको संवैधानिक पदाधिकारी नियुक्तिसँग प्रत्यक्ष सरोकार राख्ने विवाद हुन् । सम्बन्धित मुद्दा अदालतमा विचाराधीन भएको अवस्थामा प्रधानन्यायाधीश शपथ गराउन जानु गलत भएको वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले बताए । ‘सर्वोच्च अदालतमा त्यही मुद्दा आफ्नै नेतृत्वको इजलासले हेर्नुपर्ने, त्यसैबारे बहस सुन्ने भएपछि आज गरेको काम गैरजिम्मेवारपूर्ण भयो,’ उनले कान्तिपुरसँग भने, ‘उहाँले कि मुद्दा हेर्नु हुँदैन, हेरेको भए जानु हुँदैनथ्यो । यो विषयमा इजलासमै प्रश्न उठाए उहाँको धरातल र निर्णय गर्ने क्षमता कहाँ पुग्छ ? देशको प्रमुख न्यायकर्ताले यस्ता आचरण गरेपछि जनता न्याय खोज्न कहाँ जाने ?’

संवैधानिक इजलासमा अनिवार्य पेस हुनुपर्ने मुद्दामा प्रधानन्यायाधीश जबरा अलग हुन नमिल्ने संवैधानिक बाध्यता छ । प्रधानन्यायाधीश जबराको सचिवालय स्रोतले संवैधानिक जिम्मेवारीबाट उनी विमुख नहुने प्रतिक्रिया दिएको छ । उनको सचिवालय स्रोतले भन्यो, ‘संविधानले तोकेको बैठकमा सामेल हुने, शपथ गराउने उहाँको संवैधानिक दायित्व हो, त्यसबाट विमुख हुन मिल्दैन । त्यहाँ सहभागी भएकै कारण तटस्थताको उल्लंघन हुँदैन ।’

प्रधानमन्त्रीको नेतृत्वमा रहेको संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने संवैधानिक व्यवस्था छ । सरकारले गत मंसिर ३० गते अध्यादेश जारी गर्दै यीमध्ये अध्यक्षसहित बहालमध्ये बहुमत उपस्थित भएर बैठकबाट निर्णय गर्न सकिने नयाँ व्यवस्था ल्याएको थियो । यस्तो प्रावधानले संविधानकै उल्लंघन भएको दाबीसहित वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले दर्ता गरेका छुट्टाछुट्टै निवेदन सर्वोच्च अदालतमा विचाराधीन छन् ।

निवेदनमा अध्यादेश मात्रै होइन, अध्यादेशअनुसार बसेको बैठकको निर्णय र त्यसका आधारमा भएको सिफारिस पनि खारेजीको माग छ । पुस १ र २ गते दर्ता भएका निवेदनले करिब ५० दिन बित्दासमेत पालो पाएका छैनन् ।

खिलराज रेग्मी चुनावी मन्त्रिपरिषद्को अध्यक्ष रहेका बेला सर्वोच्च अदालतमा परेका कतिपय मुद्दा यसैगरी धकेलिएका र अन्त्यमा खारेज भएका थिए । वरिष्ठ अधिवक्ता अर्याल भन्छन्, ‘अहिले परेका मुद्दा पनि त्यस्तै बनाउन खोजिएको हो कि भन्ने आशंका छ ।’

समृत खरेललगायतले गत पुस ८ गते सर्वोच्च अदालतकै संवैधानिक इजलासमा अर्को मुद्दा पनि हालेका थिए । संघीय संसद्को संयुक्त बैठक र समिति कार्यसञ्चालन नियमावलीको नियम २६ मा ‘समितिले सिफारिसको पत्र प्राप्त भएको मितिले ४५ दिनभित्र सुनुवाइ गरिसक्नुपर्ने तर त्यो अवधिभित्र आफ्नो निर्णय उपलब्ध गराउन नसकेमा नियुक्तिका लागि बाधा नपर्ने’ भन्ने व्यवस्था छ । संवैधानिक प्रावधानसँग बाझिएको उक्त नियम खारेजी र कथंकदाचित नियुक्तिका लागि सिफारिस भए त्यो पनि रोक्न भनी राष्ट्रपतिको कार्यालयलाई समेत विपक्षी बनाई उनीहरूले मुद्दा हालेका थिए । एक पटक ‘झुक्किएर’ प्रतिनिधिसभा विघटनको मुद्दासँगै पालो परेको अवस्थाबाहेक त्यो मुद्दाको पेसीसमेत तोकिएको छैन ।

दुई विषयका फरक तीन निवेदन विचाराधीन रहेका बेला इजलासकै नेतृत्व गरेका प्रधानन्यायाधीश जबराले शपथग्रहण गराएका हुन् ।

अदालतमा विचाराधीन विषयमा सुनुवाइ गर्नेबाहेक अन्य क्रियाकलापमा अलग हुनुपर्छ भन्ने व्यवस्था न्यायाधीश आचारसंहितामा छ । शपथ गराउने संवैधानिक दायित्व भए पनि त्यससँग जोडिएका विषयमा प्रधानन्यायाधीश अलग रहेको विगतको उदाहरण पनि छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा बहालबाला आयुक्त दीप बस्न्यातलाई नियुक्ति गर्न जोड दिइरहेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तावलाई तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले अस्वीकार गरिरहेकी थिइन् । बस्न्यातलगायत अख्तियारका चार आयुक्तको योग्यतामाथि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएको अवस्थामा नियुक्तिको सिफारिस गर्ने बैठकमा आफू नैतिक रूपमा सामेल हुन नमिल्ने उनको अडान थियो । २०७४ वैशाख १७ गते कार्कीमाथि एकाएक महाअभियोगको प्रस्ताव दर्ता भयो । कायममुकायम प्रधानन्यायाधीश बनेको पर्सिपल्ट गोपाल पराजुली परिषद्को बैठकमा सामेल भए र बस्न्यातको नाम सिफारिस गर्ने निर्णयमा हस्ताक्षर गरे । वैशाख २२ गते सर्वोच्च अदालतले महाअभियोगको प्रस्तावविरुद्ध अन्तरिम आदेश दिएपछि कार्की सर्वोच्च अदालतमा फर्किन् ।

कार्कीविरुद्धको महाअभियोग प्रस्ताव रोकिए पनि उनी निलम्बन भएको अवधिमा संवैधानिक परिषद्बाट भएको सिफारिस संसद् सचिवालयमा पुगिसकेको थियो । जेठ पहिलो साता संसदीय सुनुवाइ समितिले बस्न्यातको नाम अनुमोदन गरी नियुक्तिका लागि पठायो । राष्ट्रपतिको उपस्थितिमा गर्नुपर्ने नियुक्तिमा शपथ गराउन तत्कालीन प्रधानन्यायाधीश कार्की सहभागी हुनुपर्ने भयो । त्यो उनको संवैधानिक दायित्व पनि थियो । त्यति हुँदा पनि उनले योग्यतामा प्रश्न उठेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै शपथ गराउन नजाने अडान राखिन् । जब कि त्यतिबेला उनले इजलास तोक्ने काम गरे पनि केही दिनदेखि इजलासमा संलग्न थिइनन् । उनले २०७४ जेठ ८ गते एक दिनका लागि आकस्मिक बिदा लिएपछि गोपाल पराजुली निमित्त प्रधानन्यायाधीश बने । त्यही हैसियतमा अख्तियार प्रमुख बस्न्यात र महालेखा परीक्षक टंकमणि शर्मालाई पराजुलीले शपथ गराएका थिए । आजको कान्तिपुर दैनिकबाट