बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

किम जोंग उनकी श्रीमती बेपत्ता

मंगलबार, माघ २० २०७७

काठमाडौं। उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनकी श्रीमती रि सोल जू विगत १ वर्षदेखि बेपत्ता छिन् । उनी एक वर्षभन्दा धेरै समयदेखि कहीँ देखिएकी छैनन् । उनी पछिल्लो पटक किम जोंग उनसँग २५ जनवरी २०२० मा प्योंगयांगमा लुनार नयाँ वर्षको कार्यक्रममा देखिएकी थिइन् । त्यो कार्यक्रममा किम आफ्नी ७४ वर्षकी आन्टी किम क्योंग ह्युइको छेउमा बसेका देखिएका थिए । उनकी काकी पनि किम जोंग उनलाई उत्तर कोरियाको सत्ता दिलाउन सहयोग गरेपछि ६ वर्षसम्म हराएकी थिइन् ।

अहिले रि सोल जू बेपत्ता भएको १ वर्षभन्दा धेरै समय भइसकेको छ तर उनको बारेमा कुनै जानकारी सार्वजनिक नहुँदा स्थानीय मिडियामा प्रश्न उठ्न थालेका छन् । डेलीस्टारको रिपोर्टअनुसार किम जोंग उनले आफ्नी श्रीमतीको हत्या गराएको हल्ला समेत चल्न थालेको छ । किम जोंग उनले यसअघि पनि विभिन्न पहुँचवाला व्यक्तिको हत्या गराएको रिपोर्ट सार्वजनिक भएको पृष्ठभूमिमा रि सोल जूको विषयमा पनि यस्तो आशंका गरिएको हो । २०१३ मा किमले आफ्नी काकी किम क्योंग ह्युइका पति जांग सांगको पनि हत्या गराएका थिए ।