बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कोरोना खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु

मंगलबार, माघ ६ २०७७

काठमाडौं । भारतमा कोरोना भाइरसको खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार शनिबार कोरोना खोप लिएका दुई स्वास्थ्यकर्मीको आइतबार र सोमबार मृत्यु भएको हो ।

यद्यपि यी दुवै स्वास्थ्यकर्मीको मृत्युको कारण भने हृदयाघात भएको बताइएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार आइतबार साँझ भारतको उत्तर प्रदेशको मुरादाबादका ४६ वर्षीय स्वास्थ्यकर्मीको निधन भएको थियो ।

मुरादाबादका प्रमुख मेडिकल अधिकारीले उनको मृत्यु कोरोना खोपसँग भने सम्बन्धित नभएको बताए । त्यस्तै शनिबार खोप लिएका कर्नाटकका ४३ वर्षीय अर्का स्वास्थ्यकर्मीको सोमबार मृत्यु भएको छ ।

उनको मृत्यु पनि हृदयाघातको कारण भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । खोप लिएको दुई दिनपछि उनको मृत्यु भएको भए पनि उनको मृत्युमा कोरोना खोपको कुनै सम्बन्ध नरहेको विशेषज्ञहरुले बताएका छन् ।

भारतमा शनिबारदेखि सुरु भएको कोरोना खोप कार्यक्रमअन्तर्गत खोप लिएका धेरै मानिसहरुमा यसको नकारात्मक असर देखिएको छ ।

अहिलेसम्म भारतका तीन लाख ८१ हजार स्वास्थ्यकर्मीले कोरोना खोप लिएका छन् । जसमध्ये ५८० जनामा खोपको नकारात्मक असर देखिएको छ भने सातजनालाई अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था देखिएको छ ।