काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटनामा परेको हो । उक्त गाडी सडकबाट करिब ७०० मिटर तल खसेको थियो ।
प्रहरीका अनुसार दुर्घटनाका बेला माइक्रोबसमा १५ जना सवार थिए । तीमध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
दुर्घटनापछि सशस्त्र प्रहरी बल सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार टोली घटनास्थलमा खटिएको छ ।
नेपाली सेना र नेपाल प्रहरीसहितको संयुक्त टोलीले पनि उद्धार कार्य जारी राखेको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।