कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ स्थित तारापुर शिविरमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ।
गए राति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने तारापुर शिविरमा हात्तीको बथान पसेर आक्रमण गर्दा स्थानीय ६० वर्षीया लक्ष्मी डगौंराको घटनास्थलमै मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय झलारीका अनुसार हात्तीको बथानले डगौंराको घर भत्काउनुका साथै उनलाई कुल्चिएको थियो।
स्थानीय छलिलाल डगौंराका अनुसार घटना हुँदा लक्ष्मी आफ्ना श्रीमान् मोहन डगौंरासँग घरमै सुतिरहेकी थिइन्। हात्तीको बथानले आक्रमण गरेपछि मोहन भागेर ज्यान जोगाउन सफल भएका छन्।
घटनाबारे जानकारी पाएपछि नेपाली सेना, नेपाल प्रहरी र निकुञ्ज प्रशासनको टोली घटनास्थल पुगेको छ।