काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बदली हुनुका साथै वर्षा र हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा सामान्यतया बदली रहनेछ। अन्य हिमाली तथा पहाडी भूभाग र मधेस प्रदेशमा आंशिक बदली हुने पूर्वानुमान छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ। मधेस र कोशी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको छ।
वर्षा तथा हिमपातका कारण हिमाली क्षेत्रमा चिसो बढ्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दा, पर्यटक तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।