सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सोमबार, कार्तिक २३ २०८३

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले देशका केही हिमाली तथा पहाडी क्षेत्रमा बादल लागेको छ भने सुदूरपश्चिम र कर्णालीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ । त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागमा पनि बादल लागेको छ ।

देशका बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार सोमबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । त्यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बदली हुने सम्भावना छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

यसैगरी, सोमबार राति देशका हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

राति तराईका साथै उपत्यका र खोँचहरूका थोरै स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ । गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।