सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

आज गाईपूजा गरिँदै, विधिपूर्वक पूजा गरी मीठा परिकार खुवाउने परम्परा

सोमबार, कार्तिक २३ २०८३

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज हिन्दू धर्मावलम्बीले श्रद्धा र भक्तिपूर्वक गाईपूजा गर्दैछन् ।

गाईलाई गौमाताका रूपमा सम्मान गर्दै आज नुहाइदिने, निधारमा टीका लगाउने, गलामा माला पहिर्‍याउने तथा विभिन्न मीठा परिकार खुवाएर पूजा गर्ने परम्परा छ ।

हिन्दू धार्मिक मान्यताअनुसार गाईलाई पवित्र जनावरका रूपमा लिइन्छ । गाईबाट प्राप्त हुने दूध, दही, घिउ, गोबर र गहुँत धार्मिक तथा सांस्कृतिक कार्यमा प्रयोग हुने भएकाले सनातन परम्परामा गाईको विशेष महत्व रहँदै आएको छ ।

गाईको दूध पोषिलो हुनुका साथै आमाको दूधसरह महत्वपूर्ण मानिने धार्मिक तथा सांस्कृतिक विश्वासका आधारमा गाईलाई माताका रूपमा सम्मान गर्ने चलन बसेको हो ।

गाईपूजाका दिन विधिपूर्वक पूजा गरी मीठा परिकार खुवाउँदा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका केही स्थान तथा समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने प्रचलन रहे पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको प्रारम्भमा गाईपूजा गर्ने परम्परा रहेको छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले विभिन्न धार्मिक कार्यमा गाईदान गर्ने परम्परासमेत मान्दै आएका छन् । पछिल्लो समय गाईको अभावका कारण सङ्कल्प गरेर रकम राख्ने प्रचलन बढ्दै गएको धर्मशास्त्रका जानकार प्रा. डा. रामचन्द्र गौतम बताउँछन् ।

गाईपूजासँग वैतरणी नदी पार गर्ने धार्मिक विश्वास पनि जोडिएको छ । साउन शुक्ल पूर्णिमाका दिन दाहिने हातमा बाँधिएको रक्षाबन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिए मृत्युपछि गाईले वैतरणी नदी पार गराएर स्वर्ग पुर्‍याउने धार्मिक विश्वास रहिआएको छ ।

यसरी गाईपूजा हिन्दू धर्मावलम्बीका लागि धार्मिक आस्था, परम्परा र सांस्कृतिक महत्व बोकेको पर्वका रूपमा मनाइँदै आएको छ ।