काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार मनाइँदैछ। मानिसको विश्वासिलो साथी तथा यमराजको दूतका रूपमा कुकुरलाई सम्मान गर्दै आज विभिन्न धार्मिक विधिअनुसार पूजा गरिँदैछ।
हिन्दू धार्मिक मान्यताअनुसार कुकुरलाई यमराजको द्वारपाल र सन्देशवाहकका रूपमा लिने गरिन्छ। यमलोकको द्वारमा श्याम र सबल नामका दुई कुकुर रहने तथा उनीहरूले यमराजको सन्देश प्रवाह गर्ने धार्मिक विश्वास छ। यही मान्यताअनुसार कुकुर तिहारका दिन कुकुरको पूजा गरी सम्मान गर्ने परम्परा बसेको हो।
यस अवसरमा बिहानैदेखि घरपालुवा तथा सडकमा रहेका कुकुरलाई नुहाइदिने, निधारमा टीका लगाइदिने, गलामा फूलमाला पहिर्याउने र मिठा परिकार खुवाउने गरिन्छ। कुकुरलाई मनपर्ने खानेकुरा खुवाएर पूजा गर्दा यमराज प्रसन्न हुने तथा परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वाससमेत रहेको छ।
धार्मिक महत्त्वसँगै कुकुरलाई मानिसको असल साथी र सुरक्षाकर्मीका रूपमा पनि लिइन्छ। घरको सुरक्षा, अपराध अनुसन्धान, खोज तथा उद्धारलगायतका कार्यमा कुकुरले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
यमपञ्चकका पाँच दिनमा काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा, गोवर्धन पूजा र भाइटीका मनाउने गरिन्छ। यी पर्वले धार्मिक आस्था, सांस्कृतिक परम्परा तथा मानिस र पशुपन्छीबीचको सम्बन्धलाई समेत उजागर गर्छन्।