काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ ।
खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । जनकपुरले टस जितेपछि लुम्बिनीलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
साविक विजेता लुम्बिनी यस सिजन अपराजित रहने एक्लो टोली हो । तीन खेलबाट पाँच अंक जोडेको लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा छ । यता, जनकपुरले चार खेलबाट दुई जित र दुई हारसहित चार अंक जोडेको छ ।
यस खेलका लागि लुम्बिनीले टोलीमा एक परिवर्तन गरेको छ । अभिषेक गौतमको स्थानमा दिलीप नाथलाई पहिलो रोजाइमा समावेश गरिएको छ ।
यस्तै, जनकपुरले दुई खेलाडी परिवर्तन गरेको छ । अमर सिंह राउटेला र मोइन अलीको स्थानमा आदित्य महता र परवेज हुसेन इमोनले पहिलो रोजाइमा खेल्ने भएका छन् ।
मोइन अली भने सुरुवाती चार खेल खेलेपछि अबुधाबी टी–१० लिग खेल्न गइसकेका छन् ।