काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खसेको छ। महाधिवेशनको मिडिया सेन्टरका अनुसार मतदान प्रक्रिया निर्बाध रूपमा जारी छ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन्। प्रतिनिधिहरूले सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयन गर्न मताधिकार प्रयोग गरिरहेका छन्।
मिडिया सेन्टरका अनुसार दिउँसो साढे १२ बजेसम्म कोशी प्रदेशबाट ४१०, सुदूरपश्चिम र कर्णाली प्रदेशबाट ६०६, लुम्बिनी प्रदेशबाट ३८९, गण्डकी प्रदेशबाट ३३०, बागमती प्रदेशबाट ४८७ र मधेस प्रदेशबाट ४२२ मत खसेको छ।
प्रदेशगत विवरणअनुसार सुदूरपश्चिम र कर्णालीबाट सबैभन्दा धेरै ६०६ मत खसेको छ भने गण्डकी प्रदेशबाट ३३० मत खसेको छ।
कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयनका लागि भइरहेको मतदान निर्धारित प्रक्रियाअनुसार अघि बढिरहेको मिडिया सेन्टरले जनाएको छ।