काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि शुक्रबार मतदान जारी छ। बिहान ७ बजेदेखि सुरु भएको मतदानमा महाधिवेशन प्रतिनिधिहरू उत्साहपूर्वक सहभागी भइरहेका छन्।
ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशका तर्फबाट पहिलो मत खसाल्नुभएको छ। मतदानका लागि प्रतिनिधिहरू बिहानैदेखि लाइनमा बसेका छन् ।
निर्वाचन समितिका अनुसार मतदानका लागि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ। निर्वाचनमा कुल ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्।
प्रतिनिधिहरूलाई सहज रूपमा मतदान गर्ने व्यवस्था मिलाउन पाँचवटा मतदान केन्द्र निर्धारण गरिएको छ। राष्ट्रिय सभा गृहस्थित मतदान केन्द्र ‘क’ मा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गरिरहेका छन्।
त्यस्तै, खुलामञ्चस्थित मतदान केन्द्र ‘ख’ मा कोशी प्रदेश तथा तराई–मधेस समूहका प्रतिनिधिका लागि व्यवस्था गरिएको छ। हिमाल हलमा गण्डकी प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् भने तराई–मधेस हलमा मधेस प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ।
यसैगरी, पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसहित नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिले मतदान गर्ने व्यवस्था मिलाइएको छ।
नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतदान सम्पन्न भएपछि मतगणना प्रक्रिया अघि बढाइनेछ।