काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि शुक्रबार बिहानदेखि मतदान सुरु भएको छ। गण्डकी प्रदेशमा ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले पहिलो मत खसाले ।
मतदानका लागि महाधिवेशन प्रतिनिधिहरू बिहानैदेखि लाइनमा बसेका थिए। अघिल्लो दिन मतदान गर्न नपाउनुभएका प्रतिनिधिहरू शुक्रबार मतदान सुरु भएपछि उत्साहित भएका छन्। दसैँ मनाउन टाढा घर जानुपर्ने प्रतिनिधिहरू मतदान सकेर घर पुग्ने तयारीमा छन् ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार खराब मौसम, प्राविधिक समस्या र ढिलो मतदान सुरु गर्दा रातिको समयमा मतदातालाई पर्न सक्ने असुविधालाई ध्यानमा राखेर बिहीबार अपराह्नदेखि गर्ने भनिएको मतदान शुक्रबार बिहानका लागि सारिएको हो।
उनले दिउँसो ३ बजेसम्म मतदान सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए। कटुवालका अनुसार महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि मतदाता रहेका छन् ।
निर्वाचन समिति संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले साँझ मतदान सुरु गर्दा रातभर प्रतिनिधिहरूलाई असुविधा हुने भएकाले शुक्रबार बिहानदेखि मतदान प्रक्रिया अघि बढाइएको बताए।
उनका अनुसार मतपत्रमा हस्ताक्षर गर्न आफूसहित ३२ जना वरिष्ठ अधिवक्ता खटिएका छन्। उम्मेदवार र मतदाताको संख्या धेरै हुनुका साथै मतपत्र छपाइमा समय लागेकाले मतदान प्रक्रिया सुरु हुन ढिलाइ भएको उनले जानकारी दिए ।
कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतदान सम्पन्न भएपछि मतगणनासहित निर्वाचनका बाँकी प्रक्रिया अघि बढाइनेछ।