बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको लाइन

शुक्रबार, असोज २३ २०८३

काठमाडौं । दशैं मनाउन घर जाने यात्रुका लागि सरकारले आजदेखि अग्रिम बस टिकट बुकिङ खुला गरेको छ। टिकट पाउने आशमा यात्रुहरू गएरातिदेखि नै काठमाडौंको नयाँ बसपार्कस्थित टिकट काउन्टर अगाडि लाइनमा बसेका छन्।

यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुरबीच असोज २० गते मंगलबार विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।

केही जिल्लामा जाने यात्रु भने टिकट लिन बिहीबार रातिदेखि नै लाइनमा बसेका छन्। नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार सुदूरपश्चिमका विभिन्न जिल्लामा जाने यात्रुहरू बिहीबार राति ९ बजेदेखि नै टिकट काउन्टर अगाडि लाइनमा बसेका थिए।

दशैंको समयमा यात्रुको चाप बढ्ने भएकाले टिकट वितरणलाई सहज बनाउन लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क क्षेत्रमा थप १५ वटा टिकट काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ।

त्यसैगरी, टिकट लिन आउने यात्रुको भीड व्यवस्थापन तथा सुरक्षालाई ध्यानमा राख्दै आवश्यक सुरक्षा प्रबन्धसमेत मिलाइएको कम्पनीले जनाएको छ।