काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि हुने भनिएको मतदान दिउँसो १ बजेदेखि हुने भएको छ।
मतदानका लागि आवश्यक केही तयारी पूरा नभएकाले निर्धारित समय तीन घण्टा सारिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।
महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले आगामी चार वर्षका लागि नयाँ केन्द्रीय नेतृत्व चयन गर्नेछन्। सभापतिसहित १८ पदाधिकारीका लागि ७१ जना र २१० केन्द्रीय सदस्य पदका लागि ७४१ जना उम्मेदवार चुनावी मैदानमा छन्।
यसरी कुल ८१२ जना उम्मेदवार निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्।
कांग्रेसको २९७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये ६६ जना केन्द्रीय सदस्य निर्वाचित सभापतिले मनोनीत गर्ने व्यवस्था छ। त्यस्तै, केन्द्रीय सदस्यमध्येबाट चार सहमहामन्त्री र एक कोषाध्यक्ष पनि सभापतिले मनोनीत गर्नेछन्।