बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

दसैँमा तोकिएकोभन्दा बढी भाडा नलिन यातायात व्यवसायी महासङ्घको आग्रह

बिहिबार, असोज २२ २०८३

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दसैँलगायत चाडपर्वका समयमा सरकारले तोकेकोभन्दा बढी सवारी भाडा नलिन यातायात व्यवसायी तथा कर्मचारीलाई आग्रह गरेको छ।

महासङ्घका महासचिव डेकनाथ गौतमले तोकिएकोभन्दा बढी भाडा लिने सवारीसाधनमाथि कारबाही हुने बताएका छन्। सरकारले यस वर्षको दसैँलाई लक्षित गर्दै असोज २३ गतेदेखि देशभर यात्रुवाहक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ।

यात्रु तथा मालवाहक यातायात सञ्चालनलाई सहज, व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, मजदुर सङ्घ–सङ्गठन, प्रहरी प्रधान कार्यालय तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच समन्वय गरी अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिएको हो।

महासङ्घले सातवटै प्रदेश, जिल्ला समिति, सदस्य सङ्घ–संस्था तथा काठमाडौँको गोङ्गबु बसपार्कमा कार्यरत शाखा प्रमुख र कर्मचारीलाई आवश्यक निर्देशनसमेत दिएको जनाएको छ।

अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले अनिवार्य रूपमा तोकिएको पोसाक र परिचयपत्र लगाउनुपर्नेछ। यात्रुसँग नम्र व्यवहार गर्दै सहज रूपमा टिकट उपलब्ध गराउने र सुरक्षित यात्राको सुनिश्चितता गर्न पनि महासङ्घले निर्देशन दिएको छ।

दसैँको यात्रुको चापलाई व्यवस्थापन गर्न घटस्थापनादेखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौँ सडकखण्डमा ट्रेलरलगायत ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनको आवतजावतमा भने रोक नलाग्ने जनाइएको छ।

त्यस्तै, घटस्थापनादेखि कात्तिक १० गतेसम्म यात्रुवाहक सवारीसाधनका लागि नेपालभर लामो तथा मध्यम रुट परमिट खुला गरिएको छ। सडकको विशेष प्रकृतिका कारण निश्चित आकार तथा प्रकारका सार्वजनिक सवारीसाधन सञ्चालनमा लगाइएको प्रतिबन्ध भने यथावत् रहने महासङ्घले जनाएको छ।

काठमाडौँ उपत्यकाका प्रमुख नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षको अनुगमन तथा सहजीकरणका लागि यातायात व्यवस्था विभागले ‘फोकल पर्सन’सहितको टोली परिचालन गर्नेछ। महासङ्घले गोङ्गबु बसपार्क, कलङ्की, कोटेश्वर, गौशाला र चाबहिल क्षेत्रमा आफ्ना प्रतिनिधिलाई जिम्मेवारी तोकेको छ।

यसैगरी, दसैँका समयमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधनको फिटनेस परीक्षणलाई प्राथमिकता दिइएको छ। यातायात व्यवस्था विभागको सवारी परीक्षण कार्यालय, टेकुबाट प्राविधिक कर्मचारी खटाएर गोङ्गबु बसपार्कमै सवारीसाधनको निःशुल्क फिटनेस परीक्षणको व्यवस्था मिलाइने महासङ्घले जनाएको छ।