बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

बिहिबार, असोज २२ २०८३

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। निर्वाचन समितिका अनुसार मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुनेछ।

महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्। सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ।

केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार प्रतिनिधिको प्रदेश तथा समूहअनुसार छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ।

निर्वाचन कार्यतालिकाअनुसार बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभा गृहमा रहेको मतदान केन्द्र ‘क’ बाट मतदान गर्नेछन्। अन्य प्रदेश तथा विभिन्न समूहका प्रतिनिधिका लागि खुलामञ्चमा छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ।

निर्वाचन समितिका अनुसार मतदान केन्द्रको व्यवस्था यसप्रकार गरिएको छ :

  • राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’ — बागमती प्रदेश
  • खुलामञ्च, तराई–मधेस हल — कोशी र मधेश प्रदेश
  • खुलामञ्च, हिमाल हल — गण्डकी प्रदेश
  • खुलामञ्च, पहाड हल — लुम्बिनी प्रदेश
  • खुलामञ्च, पहाड हल — कर्णाली, सुदूरपश्चिम, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधि

निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिलाई आफूलाई तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्न आग्रह गरेको छ। मतदानअघि प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ।

निर्वाचन आचारसंहिताले निषेध गरेका मोबाइल फोनलगायतका सामग्री मतदानस्थलमा लैजान नपाइने समितिले जनाएको छ।