बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

बिहिबार, असोज २२ २०८३

काठमाडौँ । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका अधिकांश भूभाग तथा कोशी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा थोरै स्थानमा चट्याङ र असिनासहित हल्का वर्षाको सम्भावना छ।

मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना समेत रहेको छ।

आज राति कोशी प्रदेशका सबै भूभाग तथा देशका बाँकी हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी, देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपात हुनसक्ने र मधेस तथा कोशी प्रदेशका तराई क्षेत्रमा थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।