काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
गार्मेन्ट उद्योगमा २० केभी क्षमताको विद्युत् लाइन जडानका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको सूचनाका आधारमा अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले यादवलाई घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
आयोगका अनुसार अनुसन्धानका क्रममा यादवले आफ्नो पद तथा जिम्मेवारीअनुसार सेवाग्राहीलाई विद्युत् लाइन जडानको सेवा उपलब्ध गराउनुपर्नेमा बदनियतपूर्ण ढंगले ढिलासुस्ती गरी अनावश्यक दुःख–हैरानी दिएको र घुस दिन बाध्य बनाएको पुष्टि भएको छ।
विद्युत् लाइन जडान तथा उक्त कार्यमा सहजीकरण गरिदिएबापत यादवले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस माग गरी लिएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ।
आयोगले यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा ५० हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो।
आयोगले सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद तथा दफा ३ को उपदफा (१) बमोजिम बिगो बराबर जरिवाना सजायको मागदाबी गरेको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले सोमबार प्रेस विज्ञप्तिमार्फत यादवविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको जानकारी दिएका छन्।