बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता, १ अर्ब डलर स्रोत परिचालनबारे छलफल

मंगलबार, असोज २० २०८३

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ।

विश्व बैंकका अध्यक्ष बाङ्गाको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री वाग्लेले भेटका क्रममा नेपालको आर्थिक तथा विकासका प्राथमिकताबारे छलफल गरेका हुन्।

अर्थमन्त्री वाग्लेको निजी सचिवालयका अनुसार भेटमा हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, बृहत् आर्थिक सुधार, बिमा तथा सामाजिक संरक्षणका लागि करिब १ अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालन गर्ने विषयमा छलफल भएको छ।

भेटमा विश्व बैंक अध्यक्ष बाङ्गाले नेपालमा बाढीका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व बैंकबाट उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले नयाँ सरकारले नीतिगत तथा संस्थागत सुधारका लागि अघि बढाएका कदमको प्रशंसा गर्दै पूर्वाधारमा लगानी विस्तार र मुलुकभित्रै रोजगारी सिर्जनामा जोड दिनुपर्ने बताए।

बाङ्गाले एसियाली विकास बैंक तथा अन्तर्राष्ट्रिय वित्त निगमलगायत विकास साझेदारसँग समन्वय गरेर नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विश्व बैंकले नयाँ पहल गर्ने जानकारी पनि दिए।

नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार पछिल्लो तीन दशकमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो।

भेटमा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमदलगायत उच्च पदस्थ अधिकारीहरूको समेत सहभागिता थियो।