मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३

एनएलजी इन्स्योरेन्सको सीईओमा पुनः सुनिल बल्लभ पन्त

बदलिँदो बीमा बजार र ग्राहकका अपेक्षालाई सम्बोधन गर्दै कम्पनीलाई थप सबल बनाउने

सोमबार, असोज १९ २०८३

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिल बल्लभ पन्त पुनः नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले पन्तलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार पन्तको नयाँ कार्यकाल असोज २४ गतेदेखि लागू हुनेछ । उनको हालको सीईओको कार्यकाल असोज २३ गतेदेखि समाप्त हुँदैछ । कम्पनीले पन्तको नेतृत्व, कार्यक्षमता र व्यवस्थापकीय योगदानलाई निरन्तरता दिँदै पुनः जिम्मेवारी दिएको हो।

बीमा क्षेत्रमा लामो अनुभव र व्यवसाय सञ्चालनमा कुशल क्षमता भएका पन्तलाई व्यावसायिक दृष्टिकोण, प्रभावकारी कार्यशैली तथा संस्थागत सुशासनमा जोड दिने नेतृत्वकर्ताका रूपमा लिइन्छ । उनको नेतृत्वमा एनएलजी इन्स्योरेन्सले व्यवसाय विस्तारसँगै सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि र प्रतिस्पर्धी बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाउन सफल भएको कम्पनीको भनाई छ।

पन्तको कार्यशैलीमा व्यवसाय विस्तारसँगै जोखिम व्यवस्थापन, ग्राहक सेवा र संस्थाको दीर्घकालीन विकासलाई प्राथमिकता दिने पक्ष महत्वपूर्ण मानिन्छ । बदलिँदो बीमा बजार र ग्राहकका अपेक्षालाई सम्बोधन गर्दै कम्पनीलाई थप सबल, विश्वसनीय र प्रतिस्पर्धी बनाउने दिशामा उनको नेतृत्व प्रभावकारी देखिएको छ।

कुशल व्यवसायी क्षमता भएका पन्तले चुनौतीपूर्ण बजार परिस्थितिमा समेत अवसर पहिचान गर्दै कम्पनीको व्यवसायलाई गतिशील बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ । व्यवस्थापनमा स्पष्ट दृष्टिकोण, निर्णय क्षमतामा दृढता र टिमलाई परिचालन गर्न सक्ने उनको शैलीले एनएलजी इन्स्योरेन्सको संस्थागत विकासमा सकारात्मक प्रभाव पारेको छ।

उनको पुर्ननियुक्तिले कम्पनीको आगामी व्यावसायिक रणनीति र योजनालाई निरन्तरता दिन सहज हुने अपेक्षा गरिएको छ । साथै, बीमा बजारमा बढ्दो प्रतिस्पर्धाबीच कम्पनीलाई थप सबल बनाउँदै ग्राहकको विश्वास अभिवृद्धि गर्न पन्तको दोस्रो कार्यकाल महत्वपूर्ण हुने देखिएको छ।

पन्तको नेतृत्वमा एनएलजी इन्स्योरेन्सले आगामी दिनमा व्यवसाय विस्तार, डिजिटल सेवा, ग्राहककेन्द्रित बीमा सुविधा तथा संस्थागत सुशासनलाई थप प्राथमिकता दिने अपेक्षा गरिएको छ । अनुभवी र परिणाममुखी नेतृत्वको निरन्तरताले कम्पनीलाई बीमा क्षेत्रमा थप उचाइ हासिल गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।