काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा पेस गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमितिको बैठकमा पेस गरेका छन् ।
आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा समेटिएको प्रतिवेदनमा पार्टीको विगतको आत्मसमीक्षादेखि सरकारलाई खबरदारी, निर्वाचनपूर्व गठबन्धन नगर्ने नीति, पार्टी पुनर्संरचना, निजी क्षेत्रसँग सहकार्य, युवा सहभागिता तथा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणासम्म समेटिएको छ ।
थापाले तयार पारेको प्रतिवेदनमा कांग्रेसले पछिल्ला दुई दशकमा आफ्नो मूल उद्देश्यभन्दा पद र सत्तालाई प्राथमिकता दिएको आत्मसमीक्षा गरिएको छ । गठबन्धन व्यवस्थापन, भागबन्डा, गुटबन्दी तथा लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, भ्रष्टाचार तथा अनियमिततामा आफ्नै पक्षका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्तिले सार्वजनिक संस्थाको स्वायत्तता कमजोर बनाएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदनमा युवापुस्तासँग कांग्रेसको दूरी बढेको तथा नागरिकका बदलिँदा अपेक्षा बुझ्न नसकेको विषयलाई समेत आत्मसमीक्षाका रूपमा प्रस्तुत गरिएको छ । दोस्रो विशेष महाधिवेशनमार्फत जनतासँग क्षमायाचना गर्दै पार्टी सुधारको संकल्प गरिएको विषय पनि प्रतिवेदनमा समेटिएको छ ।
थापाको राजनीतिक प्रतिवेदनमा आगामी चार वर्षका लागि पार्टीको राजनीतिक तथा संगठनात्मक दिशासहित विभिन्न २९ वटा विषयलाई मुख्य प्राथमिकताका रूपमा समेटिएको छ ।