बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, बन्दसत्रमा पेश हुने प्रतिवेदन अनुमोदन गरिँदै

सोमबार, असोज १९ २०८३

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । चिया–नास्ता तथा खाजापछि नेताहरू खुलामञ्चमा भेला भएपछि बैठक सुरु भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

उनका अनुसार बन्दसत्रमा पेश गरिने विभिन्न प्रतिवेदन केन्द्रीय कार्यसमितिबाट पारित भएपछि मात्रै बन्दसत्र सुरु हुनेछ ।

कांग्रेसका विभिन्न समितिले आफ्नो जिम्मेवारीअनुसार प्रस्ताव पेश गर्ने र बैठकले ती प्रस्ताव तथा एजेन्डा अनुमोदन गरेपछि सोही आधारमा बन्दसत्र सञ्चालन गरिने प्रवक्ता चालिसेले बताए ।

उनले भने, ‘पार्टीले विभिन्न समितिलाई जिम्मेवारी दिएको छ । त्यो जिम्मेवारीअनुसार उहाँहरूले प्रस्ताव पेश गर्नुहुन्छ । त्यसअनुसार नै बैठकले एजेन्डा अनुमोदन गर्छ र सोही आधारमा बन्दसत्र बस्छ।’

बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधनसम्बन्धी प्रस्ताव तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ ।

बन्दसत्रमा पार्टीका राजनीतिक तथा समसामयिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ । बन्दसत्र सम्पन्न भएपछि महाधिवेशनको मुख्य कार्यभारका रूपमा रहेको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।

यसैबीच, कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज साँझ ५ बजे महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ । मतदाता नामावली प्रकाशन भएपछि त्यसउपर दाबीविरोध तथा छानबिनको प्रक्रिया अघि बढाइनेछ ।

प्राप्त दाबीविरोधमाथि आवश्यक जाँचबुझ गरेपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । महाधिवेशन प्रतिनिधिलाई निर्वाचनमा सहभागी गराउन आवश्यक तयारीसमेत अघि बढाइएको छ ।