बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कांग्रेस महाधिवेशन : आज बन्दसत्र, साँझदेखि निर्वाचन प्रक्रिया सुरु हुने

सोमबार, असोज १९ २०८३

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति बैठक आज बिहान १० बजे बस्ने भएको छ । बैठकपछि सुरु हुने बन्दसत्रमा पार्टी सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

बन्दसत्रमा महामन्त्रीले विधान संशोधनसम्बन्धी प्रस्ताव पनि पेश गर्नेछन् । सभापतिको राजनीतिक प्रतिवेदन र महामन्त्रीको विधान संशोधनसम्बन्धी प्रस्तावमाथि बन्दसत्रमा छलफल हुने कांग्रेसले जनाएको छ ।

‘परम्पराको सम्मान र परिवर्तनको संकल्पः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित हिजोदेखि काठमाडौँमा कांग्रेसको १५औँ महाधिवेशन सुरु भएको हो । महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ ।

यसैबीच, आज साँझ ५ बजेदेखि महाधिवेशनको निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार साँझ ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ । त्यसपछि साँझ ६ः३० बजेसम्म मतदाता नामावलीउपर दाबीविरोध गर्न सकिनेछ ।

मतदाताको अन्तिम नामावली आज राति ८ः३० बजे प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।

असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ । सोही दिन अपराह्न ४ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ भने ४ः३० देखि ५ः३० बजेसम्म उम्मेदवारीमाथि दाबीविरोध गर्न सकिनेछ । उम्मेदवारको दोस्रो नामावली राति ७ बजे प्रकाशन गरिनेछ ।

असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ । त्यसपछि बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । सो दिन महाधिवेशन प्रतिनिधिले प्रचारप्रसार गर्न पाउने निर्वाचन समितिले जनाएको छ ।

असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । मतदान राष्ट्रिय सभागृह, खुल्लामञ्च र नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने निर्वाचन समितिले जनाएको छ ।

मतदान सकिएलगत्तै मतगणना सुरु गरिने सदस्यसचिव कटुवालले जानकारी दिएका छन् ।